अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति बाइडेनले अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीसँग वार्ता गर्ने

राष्ट्रपति बाइडेनले अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीसँग वार्ता गर्ने


वासिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीसँग पहिलो पटक संयुक्त वार्ता गर्न लाग्नु भएको छ । यो गठबन्धनलाई सामरिक दृष्टिबाट चीन विरोधीका रूपमा लिने गरिन्छ ।

भर्चुअल विधिबाट हुन लागेको यो बैठकलाई राष्ट्रपति बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले छिन्नभिन्न बनाउन खोजेको अमेरिकी गठबन्धनलाई पुनर्जीवित तुल्याउन खोजेको रूपमा लिइएको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले मंगलबार पत्रकारसँग कुरा गर्दै हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) क्षेत्रका गठबन्धन एवं साझेदार मुलुकसँगको निकट सहयोगलाई अमेरिकाले निकै महत्व दिएको सन्दर्भमा राष्ट्रपति बाइडेनले यो भर्चुअल बैठक गर्न लाग्नु भएको बताउनुभयो ।

चीनसँगको बढ्दो तनाबकै बीच ‘क्वीड’ का नामले चिनिने इन्डो–प्यासिफिकका प्रमुख मुलुकहरूबीच व्यापार र सुरक्षालाई ध्यानमा राखेर छलफल हुनेछ ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बाइडेनले गठबन्धनको क्षमतालाई अर्को स्तरमा माथि लैजान खोज्नु भएको विश्वास व्यक्त गर्नुभयो ।

‘यो हाम्रो क्षेत्रका लागि ऐतिहासिक क्षण हो र यसले एउटा सार्वभौम, स्वतन्त्र इन्डो–प्यासिफिक क्षेत्रमा हाम्रो सहयोगको आवश्यकताका बारेमा बलियो सन्देश दिनेछ,’ प्रधानमन्त्री मरिसनले संवाददातसँग भन्नुभयो ।

प्रेस सचिव साकी र भारत दुबैले भर्चुअल बैठकका अवसरमा जलवायु परिवर्तन र कोभिड–१९ महामारीका विषयमा पनि छलफल हुने बताएका छन् । यी दुबै क्षेत्र बाइडेनका लागि प्रमुख प्राथमिकताका क्षेत्र हुन् । प्रेस सचिव साकीले यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बैठकमा भाग लिने घोषणा गर्नु भएको थियो ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेताहरूले क्षेत्रीय र विश्व मामिलाका केही प्रमुख विषयहरुमा छलफल गर्नु हुनेछ, र एउटा स्वतन्त्र, खुला र समावेशी इन्डो–प्यासिफिक क्षेत्र निर्माण गर्नेतर्फ सहयोगका व्यवहारिक क्षेत्रहरुका सम्बन्धमा विचार आदानप्रदान हुनेछ ।’

जापानी प्रधानमन्त्री योशिहिदे सुगा समेत सहभागी हुनुहुने यस बैठकमा सामुद्रिक सुरक्षा प्रबद्र्धनका विषयमा पनि कुराकानी हुनेछ । भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा एसियाली मुलुकमा कोभिड–१९ विरुद्ध लड्न सुरक्षित, समतामूलक र कम खर्चिलो खोपलाई सुनिश्चित गर्ने बारेमा पनि छलफल हुने उल्लेख गरिएको छ ।