अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सूर्यविनायक-धुलिखेल सडक विस्तारका लागि छलफल सुरू

सूर्यविनायक-धुलिखेल सडक विस्तारका लागि छलफल सुरू


काठमाडौं- अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका लागि छलफल सुरू भएको छ । बनेपादेखि भक्तपुरसम्म नै सडक चाप बढिरहँदा विभागले विस्तारका लागि छलफल अघि बढाएको छ ।

एक दशक पहिले तीनकुने-सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले नै सडक विस्तार गर्ने गरी छलफल भएको छ । अहिले पनि जाइकाले सो सडकको निर्माणमा चासो देखाइरहेको बताइएको छ ।

अहिले जाइकाले निर्माण गर्ने तत्काल योजना नभएमा सरकार आफैँले बनाउने गरी छलफल अघि बढिरहेको सूर्यविनायक-धुलिखेल सडक योजनाले जनाएको छ ।

जाइकासँग सम्झौता नभएका अवस्थामा सरकार आफैँले पनि निर्माण अघि बढाउन समस्या नभएको आयोजना प्रमुख सूर्यबहादुर भाटले बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पनि सो सडक विस्तारमा चासो देखाउँदै आउनुभएको छ । प्रमुख भाटले भन्नुभयो, ‘विगतमा धेरै छलफल भइसकेकाले अब केही निर्णय हुन सक्छ ।’

जाइकाले सन् २०११ मा सो सडकको प्रारम्भिक अध्ययन गरेको थियो । रघुवीर महासेठले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पुनः सो सडक निर्माणका लागि थप छलफल भएको थियो । उहाँकै अग्रसरमा सन् २०११ का अध्ययनका आधारमा थप अध्ययन भएको थियो । विगतदेखि अहिलेसम्म नै जाइकाले सो सडकको विस्तारमा चासो देखाउँदै आएको प्रमुख भाटले जानकारी दिनुभयो ।

डिभिजन सडक कार्यालयले गत वर्षदेखि नै सो सडकमा निर्माणस्थल खाली गराउने काम गर्दै आएको छ । डिभिजन कार्यालयले गत वर्ष सडकमा रहेका रुख काट्ने काम गरेको थियो ।

कार्यालयले नै अहिले ग्राभेलको काम गरिरहेको छ । यी काम सडक विस्तारका लागि आवश्यक प्रारम्भिक काम भएको प्रमुख भाटले बताउनुभयो ।