अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समान स्वास्थ्य प्रतिष्ठानका उपकुलपति चयनमा मापदण्ड

समान स्वास्थ्य प्रतिष्ठानका उपकुलपति चयनमा मापदण्ड


काठमाडौं- सरकारले आफ्ना समान तीन स्वास्थ्य प्रतिष्ठानका उपकुलपति पदमा मापदण्डका आधारमा आवेदन माग गरेको छ ।

‘स्वास्थ्य मन्त्रालय आवद्ध सार्वजानिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ का आधारमा पाटन, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त उपकुलपति पदमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवेदन माग गरेको हो । मन्त्रालयले यही फागुन २४ गते सूचना प्रकाशित गरी ती तीन प्रतिष्ठानका रिक्त पदमा सात दिनभित्र निवेदन दिन आह्वान गरेको छ । निवेदनका साथमा मन्त्रालयले आफ्नो व्यावसायिक कार्ययोजनासमेत पेश गर्न भनेको छ ।

सो मापदण्ड अनुसार पाटन र पोखराका उपकुलपतिका लागि ‘मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नाकोत्तर प्राप्त गरी प्राध्यापक वा मन्त्रालय सम्बद्ध निकायमा कम्तीमा ११आँै तहमा काम गरेको’ हुनुपर्ने प्राबधान रहेको छ । यसैगरी कर्णालीका लागि भने मापदण्डभित्र ‘मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नाकोत्तर प्राप्त गरी सहप्राध्यापक वा मन्त्रालयसम्बद्ध निकायमा कम्तीमा १०आँै तहमा काम गरेको हुनुपर्ने’ छ ।

समान प्रतिष्ठानका समान पदका लागि असमान मापदण्डका आधारमा उपकुलपतिजस्तो उच्च गरिमामय पदमा आवेदन माग गरिएकामा सरोकार निकायले आपत्ति जनाउँदै समान मापदण्ड बनाउन मागसमेत गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत वरिष्ठ चिकित्सकले ‘अन्य प्रतिष्ठानसरह कर्णालीलाई व्यवहार गर्न’ सरकारलाई आह्वान गरेका छन् । आफ्नो नाम प्रकाशित नगर्ने शर्तमा एक चिकित्सकले भन्नुभयो, “स्वास्थ्य प्रतिष्ठानका काम समान हुन् । मन्त्रालयका नीति अनुसार स्वायत्त रूपमा सञ्चालन हुने निकाय हुन् । सरकारले प्रतिष्ठानलाई हेर्ने दृष्टिकोण पनि समान मापदण्डका आधारमा तय गरिनुपर्छ । प्रतिष्ठानमा कार्यरत वरिष्ठ प्राध्यापकहरूबाटै उपकुलपति नियुक्ति हुनुपर्छ । कर्णालीलाई मात्र किन असमान मापदण्ड ?”

शैक्षिक कार्यक्रम सञ्चालन, सिट निर्धारण, पूर्वाधार विकास, बजेट विनियोजन, अस्पतालका स्तोन्नतिलगायतका क्षेत्रमा कर्णालीलाई सङ्घीय सरकारले विभेद गर्दै आएको उहाँहरुको गुनासो छ । स्वास्थ्य प्रतिष्ठान तथा क्षेत्रीय अस्पताल सङ्घीय सरकारअन्तर्गत रहने प्रावधान छ ।

पहिलोपटक मन्त्रालयले सोही मापदण्डका आधारमा विसं २०७३ फागुनमा ती प्रतिष्ठानका ती पदमा नियुक्ति गरेको थियो । यही फागुन १५ मा चारवर्षे कार्यकाल पूरा गर्नुभएका निवर्तनमान उपकुलपतित्रय क्रमशः पाटनका डा भरतकुमार यादव, पोखराका डा बुद्धिबहादुर थापा र कर्णालीका डा राजेन्द्रराज वाग्ले चिकित्साशास्त्रका अब्बल प्राध्यापक हुनुहुन्छ । तत्कालीन समयमा सरकारले राजनीतिक सहमतिका आधारमा उपकुलपति नियुक्ति गरे पनि उहाँहरुले प्रतिष्ठानको प्राज्ञिक तथा स्वास्थ्य सेवा सुधारका लागि कोशेढुङ्गाको काम गर्नुभएकोे बताइएको छ ।

जुम्लामा पहिलोपटक एमडिजिपीको अध्ययन अध्यापन सुरुवात भइसकेको छ भने एमबिबिएसका लागि चिकित्सा शिक्षा आयोगको स्वीकृतिका पर्खाइमा छ । यसअघि प्रतिष्ठानमा नर्सिङ विषयका प्रमाणपत्र तथा स्नातक साथै स्नातक तहका जनस्वास्थ्य र मिडवाइफ विषयका पठनपाठन हुँदै आएको छ भने बिफर्मा पठनपाठनका लागि पाठ्यक्रम तयारीसमेत गरिएको जनाइएको छ । प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पतालले विशेषज्ञ सेवा प्रदान गरिरहेको छ भने सुर्खेत अथवा नेपालगञ्ज बिरामीलाई सिफारिस गर्न छाडेको छ ।