काठमाडौं– वरिष्ठ कार्डियोलोजिस्ट डा. स्मृति शाक्यले मुटुको ठूलो शल्यक्रिया नगरी भल्भ तथा मुटुका संरचनागत समस्याको उपचार गर्ने अत्याधुनिक प्रविधि अब नेपालमै उपलब्ध गराउन सकिने बताएकी छन्।
इजरायलबाट स्ट्रक्चरल कार्डियाक इन्टरभेन्सनसम्बन्धी फेलोसिप पूरा गरी नेपाल फर्किएकी डा. शाक्यले विश्वमा उपलब्ध अत्याधुनिक उपचार प्रविधि नेपालमै सम्भव रहेको सन्देश आम नागरिकसम्म पुर्याउन आवश्यक रहेको बताइन्।
करिब सात वर्षदेखि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा इन्टरभेन्सनल कार्डियोलोजिस्टका रूपमा कार्यरत डा. शाक्यले नेपालमा यस्तो उपचारका लागि दक्ष जनशक्ति रहे पनि अत्याधुनिक उपकरण, प्रविधि र आवश्यक स्रोत-साधनको उचित व्यवस्थापन गर्नुपर्ने बताइन्।
‘इजरायलबाट भर्खरै स्ट्रक्चरल हार्ट इन्टरभेन्सनसम्बन्धी आधुनिक प्रविधिमा फेलोसिप पूरा गरी नेपाल फर्किएकी छु,’ उनले भनिन्, ‘अहिले म मनमोहन सेन्टरमा कार्यरत भएकाले यहाँ यस्तो अत्याधुनिक उपचार सेवा सञ्चालन गर्न आवश्यक तयारी र व्यवस्थापनका लागि आफ्नो तर्फबाट पहल गर्नेछु।’

डा. शाक्यले स्ट्रक्चरल कार्डियाक इन्टरभेन्सन भनेको मुटुको ठूलो शल्यक्रिया नगरी मुटुका भल्भ वा संरचनागत समस्याको उपचार गर्ने आधुनिक विधि भएको भन्दै अब यस्तो उपचार आवश्यक पर्ने बिरामीहरू मनमोहन सेन्टरमा आएको अवस्थामा र यस उपचारको आवश्यकता तथा उपयुक्तता देखिएको अवस्थामा विश्वस्तरीय उपचार नेपालमै उपलब्ध गराउने प्रयासमा निरन्तर लाग्ने बताइन् ।
‘मेरो चाहना नेपाली बिरामीले अत्याधुनिक उपचारका लागि विदेश जानुपर्ने बाध्यता कम होस् र विश्वमा उपलब्ध नयाँ प्रविधिको लाभ नेपालमै बसेर लिन सकून् भन्ने हो,’ डा. शाक्यले भनिन्।
कार्डियोलोजी क्षेत्रमा पछिल्ला वर्षहरूमा स्ट्रक्चरल कार्डियाक डिजिज तथा त्यससम्बन्धी इन्टरभेन्सन प्रविधिको तीव्र विकास भइरहेको उनले बताइन्। विशेषगरी ट्रान्सक्याथेटर एओर्टिक भल्भ इम्प्लान्टेसन (TAVI) र ट्रान्सक्याथेटर एज–टु–एज रिपेयर (TEER) जस्ता प्रविधिले जटिल मुटुरोगको उपचारमा नयाँ सम्भावना सिर्जना गरेको उनको भनाइ छ।
यिनै अत्याधुनिक प्रविधिबारे थप विशेषज्ञ ज्ञान तथा व्यावहारिक सीप हासिल गर्ने उद्देश्यले उनले विश्वस्तरमै प्रतिष्ठित इजरायलको शेबा मेडिकल सेन्टरमा फेलोसिप पूरा गरेकी हुन्। त्यहाँ उनले TAVI, TEER लगायतका आधुनिक कार्डियाक इन्टरभेन्सन प्रविधिबारे गहिरो ज्ञान र व्यावहारिक अनुभव हासिल गरेको बताइन्।
डा. शाक्यले भनिन्, ‘कार्डियोलोजीको क्षेत्रमा पछिल्ला केही वर्षमा स्ट्रक्चरल कार्डियाक डिजिज तथा स्ट्रक्चरल कार्डियाक इन्टरभेन्सनमा अत्याधुनिक प्रविधि र उपचार विधिको तीव्र विकास भइरहेको छ। विशेषगरी ट्रान्सक्याथेटर एओर्टिक भल्भ इम्प्लान्टेसन (टाभी) लगायतका उपचार प्रविधिले हृदयसम्बन्धी केही जटिल रोगको उपचारमा नयाँ सम्भावना सिर्जना गरेको छ। त्यसैले यी अत्याधुनिक प्रविधि र उपचार पद्धतिबारे थप विशेषज्ञ ज्ञान तथा व्यावहारिक सीप हासिल गर्ने उद्देश्यले विश्वस्तरमै प्रतिष्ठित र अत्याधुनिक चिकित्सा प्रविधिका लागि परिचित शेबा मेडिकल सेन्टरबाट टाभी–ट्रान्सक्याथेटर एज–टु–एज रिपेयर (टिइइआर) लगायतका अत्याधुनिक कार्डियाक इन्टरभेन्सन प्रविधिबारे थप गहिरो ज्ञान र व्यावहारिक अनुभव हासिल गर्ने अवसर प्राप्त गरेँ।’
उमेर बढ्दै जाँदा वा अन्य स्वास्थ्य समस्याका कारण मुटुका भल्भ साँघुरिने वा चुहिने जस्ता समस्या देखिन सक्ने भन्दै डा. शाक्यले कतिपय बिरामीका लागि परम्परागत शल्यक्रिया जोखिमपूर्ण हुने बताइन्।
‘उमेरका कारण, अन्य जटिल रोग भएका कारण वा शल्यक्रियाको जोखिम बढी भएकाले कतिपय बिरामी मुटुको चीरफार गरेर गरिने शल्यक्रियाका लागि उपयुक्त नहुन सक्छन्,’ उनले भनिन्, ‘त्यस्ता बिरामीका लागि स्ट्रक्चरल कार्डियाक इन्टरभेन्सन प्रभावकारी उपचार विधि बन्न सक्छ।’
यस प्रविधिमार्फत छाती नचिरी तिघ्राको नसाबाट सानो पाइप मुटुसम्म पुर्याएर बिग्रिएको भल्भ मर्मत गर्न वा आवश्यक परे नयाँ भल्भ राख्न सकिने उनले जानकारी दिइन्।
‘छोटो शब्दमा भन्नुपर्दा, बिनाशल्यक्रिया मुटुको भल्भ तथा संरचनागत समस्याको उपचार गर्ने आधुनिक विधि नै स्ट्रक्चरल कार्डियाक इन्टरभेन्सन हो,’ उनले भनिन्।
डा. शाक्यले युद्धको चरम अवस्थामा समेत जोखिम मोलेर इजरायल गई फेलोसिप पूरा गरेको बताइन्। उनका अनुसार यो फेलोसिप व्यक्तिगत करियर विकासका लागि मात्र नभई नेपालमा विश्वस्तरीय नयाँ प्रविधि र उपचार पद्धति भित्र्याउने उद्देश्यले गरिएको हो।
नेपाली बिरामीलाई अत्याधुनिक उपचारको पहुँच नेपालमै दिलाउने र नेपालको कार्डियोलोजी सेवाको स्तर अझ माथि उठाउने उद्देश्यले आफूले हासिल गरेको ज्ञान र सीप उपयोग गर्ने उनको भनाइ छ।


प्रतिक्रिया