अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक


काठमाडौं– सत्तारुढ नेकपा एमालेले चैत १ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

सर्वोच्च अदालतले एमाले ब्युँताइदिएपछि नयाँ परिस्थितिबारे छलफल गर्न पार्टीको केन्द्रीय कमिटी बैठक डाकिएको सचिव एवं संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । २०७५ जेठ ३ गते माओवादी केन्द्रसित एकीकृत भएर नेकपा बनेपछि विघटन भएको एमालेलाई गत २३ गते सर्वोच्च अदालतले ब्युँताइदिएको थियो ।

केन्द्रीय कमिटी बैठकले अध्यक्ष, महासचिवको सचिवालय निर्माणदेखि अरू पार्टीबाट आएकाको व्यवस्थापन गर्नेसम्मका कामको म्यान्डेट दिने र आवश्यकताका आधारमा पोलिटब्युरो, स्थायी कमिटी र पार्टी पदाधिकारीको बैठक बसेर टुंगो लगाउने कामको सुरुवात गर्ने बताउनुभयो ।

नवौं महाधिवेशनमा निर्वाचित र पछि मनोनीत गरी एमालेका २ सय ५ जना केन्द्रीय सदस्य छन् । तीमध्ये माधवकुमार नेपाल पक्षमा ९० जना छन् भने १० पद रिक्त छन् । उपाध्यक्ष वामदेव गौतमसहित ३ जना तटस्थ बसेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा १०२ जना केन्द्रीय कमिटी सदस्य छन् । २५ सदस्यीय स्थायी कमिटीमा १२ जना ओली र १२ जना नेपाल पक्षमा छन् । स्थायी कमिटी सदस्य सोमनाथ प्यासी प्रदेश प्रमुख भएपछि उहाँको ठाउँ रिक्त छ ।