अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपाको संसदीय दलको बैठक अनिर्णित

जसपाको संसदीय दलको बैठक अनिर्णित


काठमाडौं- पार्टीको संसदीय दलको नेता चयनलगायत विषयबारे निर्णय गर्न आज भएको जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक अनिर्णित भएको छ ।

सिंहदरबारमा अपराह्न सुरू भएको बैठकमा करिब दुई घण्टा दलको विधानका विषयमा छलफल भएपनि कुनै निष्कर्षमा पुग्न सकेन ।

विधानको मस्यौदा तयार गर्न दुई सदस्यीय कार्यदल गठन गरिएको छ । पार्टीका नेता अनिल झा र रामसहाय यादव रहेको कार्यदलले विधानमा समेट्नुपर्ने विषयवस्तुबारे छलफल र परामर्श गरी पूर्णता दिने जसपाले जनाएको छ ।

बैठकले संसदीय दलको विधान सम्बन्धमा छलफल गरेपनि केही विषय थपघट गर्नुपर्ने भएकाले त्यसलाई पूर्णता दिएर पारित गर्ने निर्णय भएको जसपाका नेता केशव झाले जानकारी दिनुभयो । विधान पारित भएपछि मात्रै संसदीय दलको नेता चयन गर्न बाटो खुल्ने उहाँको भनाइ छ । बैठकपछि जसपाका शीर्ष नेता कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलका लागि उहाँकै निवास बुढानिलकण्ठ पुग्नुभएको थियो ।

अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राईलगायतका नेता छलफलका लागि कांग्रेस सभापति देउवा निवास जानुभएको नेता झाले बताउनुभयो । राजपा र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन ।

जसपामा ३४ सांसद रहेकामा दुई जना निलम्बित रहेकाले हाल ३२ मात्र हुनुहुन्छ ।