अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

६ हजार सरकारी सवारी साधनले लिए इम्बोस्ड नम्बर प्लेट

६ हजार सरकारी सवारी साधनले लिए इम्बोस्ड नम्बर प्लेट


काठमाडौं- सवारीसाधनको सुरक्षाका हिसाबले महत्वपूर्ण मानिएको ‘इम्बोस्ड’ नम्वर प्लेट लिने सरकारी सवारी साधनको संख्या झण्डै ६ हजार पुगेको छ । सरकारले फागुन मसान्तसम्ममा सरकारी सवारी साधनले यो नम्वर प्लेट लिन अनिवार्य गरेको थियो ।

सरकारले गत साउनमा इम्बोस्ड नम्वर प्लेट वितरण सुरु गरेको थियो । सबैभन्दा पहिले सरकारी सवारी साधनलाई नै अनिवार्य गरिएको यातायात व्यवस्था विभागका मेकानिकल इञ्जिनीयर मोहन भट्टराइले बताउनुभयो ।

फागुनसम्म सो नम्वर प्लेट लिन अनिवार्य भनिएपनि त्यसपछि लिनेका लागि कुनै पनि जरिवाना तोकिएको छैन । अहिले शुरुआती चरण भएकाले क्रमिकरुपमा बढाउँदै जाने लक्ष्य लिइएको उहाँले बताउनुभयो । अहिले दैनिक २० देखि ४० सरकारी सवारी साधनले नम्वर प्लेट लिइरहेका छन् ।

अझैसम्म सार्वजनिक र निजी सवारीसाधनमा नम्वर प्लेट लिनेको संख्या कम छ । यसलाई बढाउनकै लागि यो मितिसम्म अनिवार्य गरिने विभागले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र वाग्मती प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँलले गत साउन १० मा यसको वितरण शुरुआत् गर्नुभएको थियो ।

सरकारले डिजिटल प्रविधिमा गएर स्मार्ट कार्डकारूपमा रहेको सो नम्बर प्लेट देशभरका सबै सवारी साधनमा वितरण गर्ने योजना बनाएको छ । सवारी धनीले सो नम्बर प्लेटका लागि तोकिएको बैंकमा राजश्व बुझाउनुपर्ने विभागले जनाएको छ । दुई पाङ्ग्रे सवारी साधनका लागि रु दुई हजार ५००, चार पाङ्ग्रे साना तथा मझौला सवारीका लागि रु तीन हजार दुई र ठूला सवारीका लागि रु तीन हजार ६०० राजश्व जम्मा गर्नुपर्नेछ ।