अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले आज पालिकालाई प्रदेश सदरमुकाम जोड्ने सडक निर्माणको शुभारम्भ गर्ने

प्रधानमन्त्रीले आज पालिकालाई प्रदेश सदरमुकाम जोड्ने सडक निर्माणको शुभारम्भ गर्ने


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्थानीय तहको केन्द्रलाई प्रदेश सदरमुकामसम्म जोड्ने पक्की सडक निमार्ण कार्यको शुभारम्भ गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट स्वीच अन गरी सो कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम अन्तर्गत सञ्चालन गरिने सडक निर्माणको कार्य सातवटै प्रदेशमा एकसाथ सुरु हुँदैछ ।

हालसम्म पक्की सडकले प्रदेश राजधानीसँग नजोडिएका २८३ वटा स्थानीय तहलाई सडक सञ्जालले जोड्ने काम सुरु गरिने भएको हो ।

प्रधानमन्त्रीले शुभारम्भ गर्नुभएपछि सडक सञ्जालले नजोडिएका स्थानीय तहका जनप्रतिनिधि र सम्बन्धित प्रदेशका मुख्यमन्त्रीले निर्माण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुहुने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।

सडक सञ्जाल निर्माणका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार तीनै तहले संयुक्त लगानी गर्ने समझदारी भएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम संघीय सरकारले यस वर्षका लागि ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

सडक सञ्जालले नजोडिएका २८३ वटै स्थानीय तहमा आगामी पाँच वर्षभित्र सडक पुर्‍याइसक्ने लक्ष्य रहेको स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक ईश्वर माथेमाले बताउनुभएको छ ।