अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साँझपख मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

साँझपख मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना


काठमाडौं- आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही साँझपख मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुनेछ ।

स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशका पहाडी भूभागमा साँझपख मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।

प्रि-मनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख पहाडी भूभागमा हावाहुरी, मेघगर्जन तथा चट्याङसहित फाटफुट वर्षा हुने गर्छ । मौसमविद्का अनुसार अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि-मनसुन मेसम्म चल्ने भएकाले पहाडी भेगको मौसम अपराह्न तथा साँझपख प्रभावित भइरहन्छ । उक्त समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने गर्छ ।

हाल पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम नौ दशमलव चार डिग्री र अधिकतम तापक्रम २२ दशमलव चार डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम एक दशमलव पाँच डिग्री सेल्सियस छ ।