नयाँदिल्ली- भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट सङ्क्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ९०३ जना सङ्क्रमित भएका हुन् ।
यसअघि एक दिनमा सङ्क्रमितको सङ्ख्या आधा कम भइरहेका बेला अहिले फेरि बढ्दै जान थालेको हो । गत २४ घण्टाको कोरोना संक्रमितको यो संख्या यस वर्ष शुरु भएयताको नै सब भन्दा बढी हो ।
भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड १४ लाख ३८ हजार ७२४ पुगेको सो मन्त्रालयले जनाइएको छ ।
कुल सङ्क्रमितमध्ये दुई लाख ३४ हजार ४०६ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कुल एक करोड १० लाख ४५ हजार २८४ जना सङ्क्रमणमुक्त भएका छन् ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट १८८ जनाको मृत्यु भएपछि यहाँ कुल मृतकको संख्या एक लाख ५९ हजार ४४ पुगेको बुधबार जनाइएको छ ।
भारतमा जनवरीबाट कोरोना विरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म तीन करोड ५० लाख भन्दा बढीले खोप लगाइसकेका छन् ।
त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार मङ्गलबारसम्म भारतमा २२ करोड ९२ लाख ४९ हजार ७८४ जनाको कोरोना परीक्षण गरिएको छ ।
मङ्गलबार एकै दिनमा ९ लाख ६९ हजार २१ जनाको कोरोना परीक्षण गरिएको छ ।
प्रतिक्रिया