अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा २४ घण्टामा थपिए ४४ हजार कोरोना संक्रमित

भारतमा २४ घण्टामा थपिए ४४ हजार कोरोना संक्रमित


नयाँदिल्ली- भारतमा कोरोनाभाइरसबाट एकै दिनमा झण्डै ४४ हजार सङ्क्रमित थपिएका छन् ।

सरकारी अधिकारीहरूले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४३ हजार ८४६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।

सोही अवधिमा अरू २२ हजार ९५६ जना भने सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्याभन्दा सङ्क्रमितको सङ्ख्या झण्डै दोब्बर रहेकाले सङ्क्रमित अवस्थामै रहेकाको कुल सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

भारतमा अहिले कुल सङ्क्रमितको सङ्ख्या एक करोड १५ लाख ९९ हजार १३० पुगेको अधिकारीहरुले जनाएका छन् ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या भारतमा एक लाख ५९ हजार ७५५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ती मध्ये १९७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । सोही अवधिमा पन्जाबमा मात्रै एक हजार ५२९ जना सङ्क्रमित भएका छन् ।

भारतमा अहिलेसम्म चार करोड ४६ लाख ३ हजार ८४१ खोप लगाइएको छ । शनिबारसम्म देशभरी २३ करोड ३५ लाख ६५ हजार ११९ जनाको कोरोना परीक्षण गरिएको छ ।