अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वभरका प्रवासी नेपालीलाई नयाँ वर्षको अवसरमा प्रधानमन्त्रीको सम्बोधन

विश्वभरका प्रवासी नेपालीलाई नयाँ वर्षको अवसरमा प्रधानमन्त्रीको सम्बोधन


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले कोरोना भाइरसविरुद्धको खोप जनतालाई निःशुल्क उपलब्ध गराइरहेको बताउनुभएको छ ।

प्रवासी नेपाली एकता मञ्चले बुधबार आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा जुममार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको स्वास्थ्यमा सरकार गम्भीर रहेको बताउनुभएको हो ।

उहाँले नेपालले खोपको उत्पादन नगरेपनि प्रथामिकताको आधारमा नागरिकलाई खोप गराएको बताउँदै थप खोप खरिद गरेर दोस्रो चरणको खोप अभियान चाँडै सञ्चालन गरिने जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले कोरोना अवधिमा नेपालको निर्यात सकारात्मक बिन्दुमा गएकोसमेत बताउनुभयो ।

२०७७ सालमा विकास निर्माणका काममा आशालाग्दो प्रगती भएको बताउँदै उहाँले यही वैशाख ११ गते धरहराको पनि उद्घाटन गरिने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपाल गरिब भएपनि हात फिजाएर माग्नु पर्ने अवस्था छैन । विकासलाई जनताको प्रतिव्यक्ति आय भन्दा पनि उनको जीवनमा आएको खुसीसँग दाँज्नुपर्छ ।’ उहाँले प्रवासमा बसेर पनि नेपालप्रतिको सद्भाव देखाएकोमा प्रवासी नेपालीलाई धन्यवाद दिनुभयो ।

प्रधानमन्त्री ओलीले प्रवासमा बसेका नेपालीले अब नेपाल ढुक्क भएर लगानी गर्ने वातावरणको सिर्जना भएको बताउँदै नेपालमा बन्द, हडताल जस्ता गतिबिधी नहुने भएकोले नेपालमा लगानी भित्र्याउनका लागि प्रवासमा रहेका नेपालीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय समन्वय कमिटीका सचिव एवं अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष भक्त गुरुङको सभापतित्वमा भएको थियो ।