अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगरमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते

विराटनगरमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते


विराटनगर-मोरङको विराटनगर महानगरपालिका-१५ स्थित जुटमिल पछाडिको खाली जमिनमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते भएका छन्।

आइतबार (कात्तिक १५ गते) बिहान करिब ११ः३० बजे जमिनमा गाडिएको अवस्थामा रहेको पुरानो सकेट बमजस्तो देखिने वस्तु फोहोर सफा गर्ने क्रममा पड्किँदा स्थानीय दुई जना घाइते भएका हुन्।

घाइते हुनेमा विराटनगर–१५ निवासी ४० वर्षीया नजवा खातुन र उनका ६५ वर्षीय ससुरा हैदर अली रहेका छन्। मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रका अनुसार विस्फोटबाट नजवा खातुनको दुवै हात र छातीमा सामान्य चोट लागेको छ भने हैदर अलीको बायाँ हात र दाहिने खुट्टामा चोट लागेको छ।

घटनालगत्तै सीमा प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले दुवै जनाको उद्धार गरी उपचारका लागि स्थानीय जितु मेडिकल पठाएको थियो। घाइते दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार जमिनमा पहिलेदेखि नै गाडिएको पुरानो सकेट बमजस्तो वस्तु फोहोर सफा गर्ने क्रममा चलाउँदा विस्फोट भएको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले जानकारी दिएका छन्।