अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्लाहीमा विद्यार्थी र प्रहरीबीच झडप, नौ जना घाइते

सर्लाहीमा विद्यार्थी र प्रहरीबीच झडप, नौ जना घाइते


सर्लाही- सर्लाहीको हरिपूर्वा नगरपालिकामा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । सो झडपमा दुवैतर्फका गरी नौ जना घाइते भएका छन् ।

हरिपूर्वा नगरपालिका-५ मा रहेको केश्वर गरिब जनता माध्यमिक विद्यालयका विद्यार्थी र प्रहरीबीचको झडपमा सात विद्यार्थी र दुई प्रहरी घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते हुने विद्यार्थीमा सुजितकुमार यादव, ललित मण्डललगायत छन् भने प्रहरीतर्फ जवान विनयकुमार यादव र दिलीपनारायण यादव घाइते भएका छन् ।

घाइते विद्यार्थी र प्रहरीको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्ण गिरीले जानकारी दिनुभयो ।

प्राविधिकतर्फका शिक्षक नियुक्ति गर्दा राजनीतिक दबाबको आधारमा नियुक्ति गरेको भन्दै नगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका विद्यार्थी र प्रहरीबीच झडप भएको हो । प्रहरीले लाठीचार्ज गरेपछि दोहोरो झडप भएको स्थानीयवासीले बताएका छन् ।

आक्रोशित विद्यार्थीले नगरपालिकाको कार्यालय र हरिपूर्वा प्रहरी चौकीमा समेत तोडफोड गरेका छन् । उनीहरूले नगरपालिकाको कार्यालयमा रहेको दराज, टेबुल, सोफा, सीसीटीभी, ल्यापटप र कागजपत्रमा क्षति पुर्‍याएको नगरपालिकाले जनाएको छ । तोडफोडमा उत्रिएका ६ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।