अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको निर्देशनपछि नेशनल मेडिकल कलेजमा कोरोना उपचार सुरू

प्रधानमन्त्रीको निर्देशनपछि नेशनल मेडिकल कलेजमा कोरोना उपचार सुरू


वीरगञ्ज- प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले कोरोनाका बिरामीको नि:शुल्क उपचार गर्ने भएको छ ।

कलेजका प्रवन्ध निर्देशक बसुरुद्दिन अन्सारीका अनुसार १ सय ७२ वटा बेड भएको अस्पतालमा आजदेखि नि:शुल्क उपचार गर्न थालिएको हो ।

केही दिनअघि टेलिफोन गरेर वीरगञ्जमा कोरोना धेरै बढेकोले तत्काल उपचार थाल्न निर्देशन दिएपछि आजबाट उपचार सुरू गरिएको अन्सराले बताउनुभयो ।

‘प्रधानमन्त्रीज्यूले फोन गरेर वीरगञ्जको अवस्था भयाभह हुँदै गएकोले नेशनल मेडिकल कलेजले कोरोनाको उपचार थाल्न निर्देशन दिनुभयो,’ अन्सारीले नेपाली बहस डटकमसँग भन्नुभयो, ‘अहिलेको क्षमतालाई बढाएर हामी ५ सय जनासम्मको उपचार यहाँबाट गर्नसक्छौँ ।’

अहिले १२ वटा बेड इमरजेन्सी, २० वटा बेड भेन्टिलेटरसहितको आईसीयू, अक्सिजन सहितका ३० वटा बेड, अट्याच वाथ रुमसहितका ३० वटा बेड र करिब ९० बेड जेनेरल छन् ।

तस्बिर : महेश दासको फेसबुक

‘हामीले महानगर वा प्रदेश सरकारले भनेर होइन, प्रधानमन्त्री र संघीय सरकारले भनेर कोरोना अस्पतालको रूपमा सञ्चालन गरेका हौँ,’ अन्सारीले भन्नुभयो ।

अन्सारीले वीरगञ्ज आसपासका बिरामीलाई आफ्नो अस्पतालमा उपचारका लागि आउन आग्रह गर्नुभएको छ । ‘उपचार नपाए वीरगञ्ज मेडिकल कलेज आउहोस् । यहाँ खानापिना, बस्न, दबाइ पानी, अक्सिजन केहीको पैसा लाग्दैन,’ अन्सारीले भन्नुभयो, ‘हामी सकेसम्म सबैको उपचार गरेर पठाउछौँ ।’

आज पर्साका सीडीओ र एसपीले सो अस्पतालको रिवन काटेर उद्घाटन गर्नु भएको हो । काठमाडौंमा पनि आफूले २ सय बेडको आईसीयू र १ सय बेडको भेन्टिलेटरसहितको उपचार सुरू गर्न खोज्दा अनुमति नपाएको अन्सारीले गुनासो गर्नुभयो ।

उपचार सुरू गरेलगत्तै बिरामीले अस्पताल भरिभराउ हुन थालेको उहाँले बताउनुभयो ।