जसलाई तिमी नेता मान्छौं र भगवान ठान्छौ,
उसमा त म मान्छेको पूर्ण स्वरूप पनि देख्दिन ।
तिमी भन्छौं– भजन रचना गर उनका पक्षमा,
म त तिनका निम्ति कपुरी ‘क’ पनि लेख्दिन ।
म चाहन्छु –हाम्रा डाँडापाखामा –
झुलून केवलकार,
अनि जमिनमुनि रेल सवार ।
पुगुन् नेपाली उत्पादन विश्वभर,
झुम्मियून विद्यार्थी संसारभरका–
नेपाली विश्वविद्यालयहरुमा
म त देख्छु यस्तो सपना निरन्तर ।
तिमी आफ्नो भगवान् – भक्तिलाई सर्वस्व मान्छौं
भजन गाओस् यसले पनि – भन्ने ठान्छौं ।
म देख्छु भविष्यको सपना,
र गर्छु निरन्तर समृद्धिको कल्पना,
घरिघरि देखियो भने सपना,
तब मात्र पुरा हुन्छ मित्र !
समृद्धिको कामना ।
तिमी–हामीले सपना देख्दै गरे –
तिम्रा छोराहरु जाग्लान्,
मेरा छोरीहरु जाग्लान्,
तिमिले र मैले देखेका सपनाहरू,
साकार पार्न तर्फ लाग्लान् ।
तब पो बन्ला त देश समृद्ध,
अनि कसले हामीलाई,
तिमी र मलाई
मेरो चाकरी गर– भन्छ ?
एक पटक सोच त मित्र !
कल्पना : भूमिदत्त पौडेल, सम्पादनः वासुदेव ढुंगेल, प्रेरणाः कृष्ण मुरारी गौतम (चट्याङ मास्टर)
प्रतिक्रिया