काठमाडौं-प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले यस वर्षको गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन्।
१५ जेठमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा सम्बोधनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको हो।
प्रधानमन्त्रीको कार्यालयले राष्ट्रपति कार्यालयमा पठाएको पत्रमा संविधानको धारा ६६ को उपधारा २ अनुसार गणतन्त्र दिवस समारोहलाई सम्बोधन गरिदिन राष्ट्रपति पौडेललाई अनुरोध गरिएको उल्लेख छ। मन्त्रिपरिषद्को निर्णयअनुसार, सरकारले राष्ट्रपतिको कार्यालयमा पत्राचार गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिष्को कार्यालय स्रोतले जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार त्यो पत्रमा ‘संविधानको धारा ६६ को उपधारा २ बमोजिम जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गरिदिनुहुन सिफारिस गरिन्छ,’ भन्ने वाक्यांश लेखिएको छ ।
हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा आयोजना हुने मूल समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहँदै आएको छ। उक्त समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत उच्चपदस्थ व्यक्तिहरूको सहभागिता रहने गर्दछ।
तर, सधैँ राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रचलन भने बालेनले तोड्ने भएका छन् । यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने र राष्ट्रपतिको उपस्थिति रहने परम्परा रहेको थियो । तर, अहिले प्रधानमन्त्री आफूले सम्बोधन नगरेर राष्ट्रपतिलाई सम्बोधन गर्न पत्रमार्फत सिफारिस गरेका हुन् ।
हालै सरकारको नीति तथा कार्यक्रममा छलफलमा उठेका प्रश्नको जवाफ दिन पनि प्रधानमन्त्री साह गएका थिएनन् । उनले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जवाफ दिन लगाएका थिए ।




प्रतिक्रिया