अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महामारीमा नगरपालिका : गत वर्षभन्दा उत्कृष्ट काम गर्ने अवसर

महामारीमा नगरपालिका : गत वर्षभन्दा उत्कृष्ट काम गर्ने अवसर


विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले सबै ठाउँ आक्रान्त छ । हरेक नगर गाउँहरू यसबाट अछुतो रहन सकेनन् । त्यसैले यसबाट पीडित नागरिकलाई सेवा गर्ने अगुवा भनेका स्थानीय तहका जनप्रतिनिधि नै हुन् । नागरिकको प्रत्यक्ष पहुँच भएको सरकार भनेको स्थानीय सरकार नै हो । यिनै जनप्रतिनिधिले नागरिकको समस्या देखेका हुन्छन्, भोगेका हुन्छन् । र, उनीहरूको गुनासो पनि सुनेका हुन्छन् । जसले गर्दा नागरिकले चाहेको सेवा प्रवाह गर्न सक्षम यिनै जनप्रतिनिधि हुन्छन् ।

कोरोना भाइरस (कोभिड-१९)को दोस्रो भेरियन्टका जति पनि बिरामीहरू छन् उनीहरूलाई नगरपालिकाहरूले स्वास्थ्य संस्थासम्म पुर्‍याउने, औषधिको व्यवस्थापन गर्ने, आइसोलेसन बनाउने काम गरेका छन् । एम्बुलेन्स सेवा दिने, जनचेतना जगाउने र नगरपालिका क्षेत्रभित्र देखा परेका कोभिडका समस्या समाधान गर्नका लागि व्यवस्थापकीय कामहरूमा स्थानीय जनप्रतिनिधि बढी संलग्न भएका छन् ।

गत वर्षको महामारीमा विदेशबाट आएका मानिसहरूलाई व्यवस्थापन गर्ने, स्वाब परीक्षण गर्ने, क्वारेन्टाइन बनाउने कुरामा बढी ध्यान दिनु परेको थियो । यो पटक चाँहि होम आइसोलेसन भएकाहरूलाई सुरक्षितसँग बस्ने व्यवस्थापनका लागि के गर्न सकिन्छ । त्यसका कामहरू र आईसीयूमा राख्नु पर्ने अवस्था आयो भने नगरपालिकाले बनाएका अथवा नजिकको अस्पतालसम्म लैजाने कुरामा सहजिकरण गरिराखेका छन् ।

कोरोनाको दोस्रो भेरिएन्टका जति पनि संक्रमित छन् उनीहरूलाई नगरपालिकाहरूले स्वास्थ्य संस्थासम्म पुर्‍याउने, औषधिको व्यवस्थापन गर्ने, आइसोलेसन बनाउने काम गरेका छन् । एम्बुलेन्स सेवा दिने, जनचेतना जगाउने र नगरपालिका क्षेत्रभित्र देखा परेका कोभिडका समस्या समाधान गर्नका लागि व्यवस्थापकीय कामहरूमा स्थानीय जनप्रतिनिधि बढी संलग्न भएका छन्

संघीय सरकारले समग्रमा कोभिडको समस्या समाधान गर्नका लागि गर्नुपर्ने भूमिका निर्वाह गरिरहेकै छ । हाम्रोमा मेडिकल पूर्वाधार कमजोर छ । कोभिडको धेरै ठूलो समस्या हुना साथै आइसोलेसनको समस्या अक्सिजनसहितको भेन्टिलेटरको व्यवस्थापन गर्ने कुरामा समस्या आयो । विशेष गरेर बढी काठमाडौं उपत्यकामा यो समस्या बढी देखियो । सरुवा रोग नियन्त्रण अस्पताल हामीसँग कम छ । यस कारणले स्रोत र जनशक्तिको व्यवस्थापनमा समस्या भएको हो । यी सबै कारणले गर्दा अलिकति यो पक्षमा सरकारले ध्यानदिनु पर्ने देखिन्छ ।

विगतको तुलनामा अहिले अलि अवस्था राम्रो भएको छ । तर, अहिले आएको कोभिडको समस्या जुन छ त्यो चाँहि जोखिमयुक्त भएको हुनाले हामीलाई भेन्टिलेटरसहितको आइसोलेसन आवश्यकता बढेको हो । यसको संख्या कम भएको कारणले अलिकति समस्या भएको हो । यसमा अहिले संघीय सरकारको भूमिका ठीकै छ । मुख्यचाहिँ स्थानीय सरकारहरूले गरेको कामहरूलाई फाइनान्सियली सपोर्ट गरिदियो भने सजिलो हुन्छ ।
दोस्रो पाटो चाहिँ स्थानीय सरकारमा पनि फन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सरसफाइकर्मी जनप्रतिनिधि आदिलाई सुरक्षाको कुरा अक्सिजनको कुरा, मेडिकल औजारको व्यवस्थापन छिटोभन्दा छिटो गरिदिन सकियो भने अलि सहजता आउछ भन्ने कुरा हो ।

सरुवा रोग अस्पताल र स्थायी आइसोलेसन आवश्यक

यो रोग जस्तै अन्य महामारी र विपत्तीहरू त दीर्घकालिन रूपमै रहन्छन् । त्यसैले ७७ वटै जिल्लामा सरुवा रोग नियन्त्रण अस्पताल खोल्नु पर्दछ । महामारीको नियन्त्रण चाहिँ संविधानमा संघीय सरकारको दायित्व भनेर लेखिएको छ । यसमा संघको एकल अधिकार छ । त्यसैले यसलाई संघले कति गर्ने, प्रदेशले कति गर्ने र स्थानीयले कति गर्ने भनेर कानुन ल्याउनु पर्दछ ।

तीनै तहका सरकारलाई कोभिड लगायतका महामारी नियन्त्रण गर्न जिम्मेवारी दिनुपर्दछ । जसले गर्दा स्थानीय सरकारले गर्ने काम पनि स्पष्ट हुन्छ । कोभिडसँग सम्बन्धित मेडिकल डाक्टर र उपकरणहरू पूर्वतयारीको अवस्थामा राख्नु पर्दछ । किनकि नेपालमा विपद् व्यवस्थापनको कुरा गर्दा भूकम्प, बाढी पहिरो आदिका कुरा मात्र होइन अरू महामारी पनि संक्रमित मानिसलाई बचाउनका लागि तयारी सुरू गर्नु पर्दछ । देशमा आइसोलेसनको स्थायी संरचना, सरुवा रोग नियन्त्रणको स्थायी संरचना व्यवस्थापनको काम हामीले गर्नु पर्दछ ।

नागरिक तीनै तहका सरकारका हुन् 

संविधानले महामारी नियन्त्रण संघीय सरकारको जिम्माको काम भनेता पनि नागरिक चाहिँ तीन वटै सरकारका हुन् । एउटा मात्र सरकारको नागरिक होइन । त्यसकारण हामीले कानुनी दायित्वमा स्पष्टता पनि ल्याउनु पर्दछ । आफ्नो नजिकको आफूले आफ्नो जिम्मेवारीमा रहेको नगर क्षेत्र भित्रका जनताहरूको स्वास्थ्य सेवा दिने कुरा उनीहरूलाई सुरक्षित राख्ने कुरा, उनीहरूलाई व्यवस्थित गर्ने कुरा उनीहरूका समस्या समाधान गर्ने कुरामा फ्रन्टलाइनमा स्थानीय सरकार पर्दछ । किनभने नागरिकका लागि नै सरकारहरूको निर्माण हुन्छ । नागरिकका लागि नै जनप्रतिनिधिहरू बनेका हुन्छन् ।

नेपालमा विपद् व्यवस्थापनको कुरा गर्दा भूकम्प, बाढीपहिरो आदिका कुरा मात्र होइन अरू महामारी पनि संक्रमित मानिसलाई बचाउनका लागि तयारी सुरू गर्नुपर्छ । देशमा आइसोलेसनको स्थायी संरचना, सरुवा रोग नियन्त्रणको स्थायी संरचना व्यवस्थापनको काम हामीले गर्नुपर्छ

नागरिकले नै बनाएका प्रतिनिधिहरू हुन् । त्यसकारण नागरिकका हरेक खालका समस्याहरूमा चाहिँ कानुनले अधिकार दिएको गर्ने नत्र नगर्ने भन्ने होइन । मानवीय समस्या सबैभन्दा ठूलो कुरा हो । त्यसमा जनप्रतिनिधिको भूमिका अब्बल हुनु पर्दछ । जुनबेला संकट पर्दछ राष्ट्रलाई त्यतीबेला जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सेनाप्रहरी सबै मिलेर काम गर्नु पर्दछ । यतिबेला हाम्रो समन्वयको महत्वपूर्ण भूमिका हुन्छ ।

धुलिखेलको अवस्था

कोरोना नियन्त्रण तथा व्यवस्थापनमा धुलिखेल नगरपालिकामा ५० बेडको अक्सिजन सहितको आइसोलेसन बनाएका छौँ । त्यहाँ मेडिकल डाक्टरहरूको पनि प्रवन्ध गर्दैछौँ । नगरपालिकाले कोरोनाका बिरामी बोक्ने दुई वटा एम्बुलेन्सको व्यवस्था गरेको छ । अहिले नगरपालिकामा कम्तीमा २ सय जना कोरोनाका बिरामी छन् । सात जना नगरबासीलाई हामीले कोरोनाबाट गुमायौँ । कोरोनाका बिरामीहरूलाई मास्क, स्यानिटाइजर, भिटामिन डी सी। जिंक, सिटमोल, एन्टिबाइटिकलगायतका औषधि र स्वास्थ्य सामग्री बाँडिरहेका छौँ ।

कोरोनासँग सम्बन्धित नगरबासीका जिज्ञासाहरू तिनको समाधानका लागि दुई जना डाक्टरलाई जिम्मेवारी दिएका छौँ । एम्बुलेन्सका लागि दुई जनालाई जिम्मा दिएका छौँ । कोरोनाका बिरामीलाई आकस्मिक सेवा दिनका लागि छ जना कर्मचारीलाई जिम्मा दिएका छौँ । एक करोड रुपैयाँको कोरोना नियन्त्रण तथा व्यवस्थापन कोष पनि बनाएका छौँ ।

राहतको कुरा

गत वर्ष जस्तो यो वर्ष हामी लाइन लगाएर राहत बाँड्दैनौँ । समस्या परेकाहरूलाई सम्बन्धित वडाबाट व्यवस्थपान गर्ने गरी व्यवस्था मिलाएका छौँ । जसलाई साँच्चिकै समस्या पर्छ उहाँहरूले आफ्नो वडामा फोन गरेर अवस्था जानकारी गराउन सक्नुहुन्छ । वडा प्रतिनिधिहरूले अवस्था बुझेर उहाँहरूलाई राहत दिनुहुन्छ ।

गत वर्षभन्दा राम्रो काम गर्ने अवसर

नेपाल नगरपालिका संघले देशव्यापी रूपमा सबै नगरपालिकाका जनप्रतिनिधिहरूलाई आफू सुरक्षित हुन, नागरिकको स्वास्थ्यमा ध्यान दिन, उनीहरूको सुरक्षा र व्यवस्थापनको काम गर्न भनेको छ । गत वर्षको कोरोना नियन्त्रण तथा व्यवस्थापनमा हामीले जुन ढंगको उत्कृष्टता हासिल गर्‍यौँ त्योभन्दा राम्रो यस पटक गर्नु पर्दछ । सम्भव भएसम्म संघीय सरकारलाई के भनेका छौँ भने यति बेला चाहिँ नागरिकको जीउधनको सुरक्षा र स्वास्थ्यलाई सेवा पुर्‍याउने उद्देश्यले हामीले सकेसम्म बाहिरबाट बढीभन्दा बढी भ्याक्सिनको व्यवस्था गर्न पाए राम्रो हुन्थ्यो ।

यो वर्ष पनि त्यस्तै अवसर आएको छ । जनतालाई प्रत्यक्ष रूपमा सेवा गर्ने अवसरको रूपमा लिनु पर्छ । गत वर्षको सिकाइबाट पनि हामीले यस वर्ष कोरोना नियन्त्रण तथा व्यवस्थापनमा उत्कृष्ट काम गर्नुपर्छ

स्थानीय सरकारलाई कोभिड लगायतका महामारीको बारेमा उनीहरूले वहन गर्ने दायित्व ऐन कानुनमै स्पष्ट खुलाइदियो भने काम गर्न सजिलो हुन्छ । कहिलेकाँही के हुन्छ भने काम हामी गर्छौँ तर कानुनी दायित्व भएन भने कहीँकतै विवाद र अप्ठेरो भयो भने अरू खालका जटिलताहरू थपिन्छन् ।

सबै नगरपालिकाहरूले आफ्नो नगर क्षेत्रभित्रका कोरोनासँग सम्बन्धित सबै तथ्यांकहरू अद्यावधिक गर्ने र उनीहरूका समस्या समाधान गर्नेमा लाग्नु पर्दछ । देशलाई परेको समस्या समाधानमा स्थानीय सरकार अब्बल रूपमा उभिनु पर्दछ भन्ने मलाई लाग्छ ।

अर्को कुरा सबै जनप्रतिनिधिलाई यस्तो अवसर आउँदैन । गत वर्ष पनि हामीले कोरोना महामारीका बेला धेरै काम गर्‍यौँ । यो वर्ष पनि त्यस्तै अवसर आएको छ । जनतालाई प्रत्यक्ष रूपमा सेवा गर्ने अवसरको रूपमा लिनु पर्दछ । जनप्रतिनिधिले यो मौकालाई । गत वर्षको सिकाइबाट पनि हामीले यस वर्ष कोरोना नियन्त्रण तथा व्यवस्थापनमा उत्कृष्ट काम गर्नुपर्छ ।

(कुराकानीमा आधारित । व्याञ्जु नेपाल नगरपालिका संघका अध्यक्ष र धुलिखेल नगरपालिकाका मेयर हुनुहन्छ ।)