अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्यकर्मीलाई एकमुष्ट कोराना भत्ता दिन्छौँ : मुख्यमन्त्री शाही

स्वास्थ्यकर्मीलाई एकमुष्ट कोराना भत्ता दिन्छौँ : मुख्यमन्त्री शाही


सुर्खेत- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना भत्ता एकमुष्ट उपलब्ध गराउने बताउनुभएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटको बैठकमा सहभागी हुनुभएका मुख्यमन्त्री शाहीले सोमबार जिल्ला अस्पताल कालीकोटका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग छलफल गर्ने क्रममा उनीहरूले उपलब्ध गराईदिन अनुरोध गरेका थिए ।

सो क्रममा उहाँले प्रदेशका सबै स्वास्थ्यकर्मीलाई गत र चालु आवको भत्ता एकमुष्टरूपमा तत्काल उपलब्ध गराउने विश्वास दिलाउँदै जोखिम भत्ता पाएनौं भन्ने समस्या चिर्ने बताउनुभएको थियो ।

छलफलको क्रममा अस्पतालका निमित्त प्रमुख कटक महतले १४३ जना कर्मचारी दरबन्दीको आवश्यक मागपत्र मुख्यमन्त्री शाहीलाई बुझाउँदै आइसीयु सञ्चालन गर्न जनशक्ति व्यवस्थापन लागि आग्रह गर्नुभएको थियो । मुख्यमन्त्री शाहीले स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न सुझाउँदै आवश्यक व्यवस्थापन प्रदेश सरकारले गर्ने विश्वास दिलाउनुभयो ।

उहाँले भन्नुभयो, “तपाईहरू उच्च मनोबलका साथ काम गर्नुहोस् प्रदेश सरकार चिकित्सक र स्वास्थ्यकर्मीकै साथमा छ । कुराभन्दा पहिला काम गर्नुहोस् । बिजुली छैन, सोलार जडान गरिहाल्नुस् त्यसमा लाग्ने आवश्यक रकमको सहयोग प्रदेश सरकारले गर्छ ।”

विशेषगरी स्वास्थ्य पूर्वाधार तथा विकास योजना अनुगमनका लागि गृह जिल्ला पुग्नुभएका मुख्यमन्त्री शाहीले स्थानीय तहका प्रमुख/अध्यक्षलाई विपद् प्रतिकार्यका लागि वडास्तरमा स्वयंसेवक परिचालन गर्न मुख्यमन्त्रीको निर्देशन दिनुभएको छ । कोरोना महामारी जिल्लामा वर्षेनी प्राकृतिक प्रकोपबाट उत्पन्न हुने समस्याबारे समयमै सजग गराउन तथा तत्काल उद्धारमा सहयोग पुग्नेगरी प्रत्येक वडातहमा स्वयंमसेवक परिचान गर्नुपर्ने उहाँको भनाइ थियो ।