अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले सञ्चालनमा ल्यायो कोभिड-१९ युनिफाइड अस्पताल

सरकारले सञ्चालनमा ल्यायो कोभिड-१९ युनिफाइड अस्पताल

रासस
0
Shares

काठमाडौं । सरकारले कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) सञ्चालनमा ल्याएको छ । अस्पतालमा अक्सिजन जडान गरी बिरामीको उपचार शुरु गरिएको छ ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले हिजो मङ्गलबारदेखि अस्पताल सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार अहिले अस्पतालमा ५० जना सङ्क्रमितलाई भर्ना गरी उपचार गर्न थालिएको छ । “हामीले अहिले पूर्ण रुपमा सबै शय्यामा बिरामी राखेर उपचार गरेका छैनौ”, उहाँले भन्नुभयो, “पर्याप्त मात्रामा अक्सिजन जडान गरी अस्पताललाई पूर्ण रुपमा सञ्चालन गर्ने छौ ।”

अस्पतालले केही दिनमा सय शय्या र पछि सबै पूर्वाधार जडान भइसकेपछि सबै शय्या सञ्चालनमा ल्याउने छ । सरकारले वीर अस्पतालको ५०० शय्याको नयाँ सर्जिकल भवनमा नै युनिफाइड अस्पताल सञ्चालन गरेको हो ।
अहिले अस्पतालमा तरल अक्सिजन र सिलिण्डर अक्सिजनको व्यवस्था गरिएको छ । डा गौतमले अस्पतालमा दुई वटा अक्सिजन प्लान्ट र एउटा तरल अक्सिजन प्लान्ट जडान गरिने बताउनुभयो ।

उहाँले एक दुई दिनभित्रमा ति अक्सिजन प्लान्ट जडान गरेर सबै शय्यामा बिरामी राखिने जानकारी दिनुभयो ।
कोभिड–१९ सङ्क्रमितको निदान र उपचारको काम एकीकृत रुपमा सञ्चालन र व्यवस्थापन गर्न कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ मार्फत सरकारले वीरलाई युनिफाइड केन्द्रीय अस्पतालको रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

अस्पतालमा आइसियु र एचडियु पनि थप गरिने उहाँले जानकारी दिनुभयो । अहिले वीर अस्पतालमा १२५ र राष्ट्रिय ट्रमा सेन्टरमा ७५ सङ्क्रमितको उपचार भइरहेको छ । ति दुवै अस्पतालमा अहिले ३५ आइसियु र एचडियु रहेका छन् । युनिफाइड अस्पतालले सङ्क्रमितको उपचार व्यवस्थापन, अक्सिजन, आइसोलेसन, एचडियु र आइसियुको व्यवस्थापन गर्ने, टेलिमेडिसिन कल सेन्टर, होम आइसोलेसन फलोअप, एम्बुलेन्स, आकस्मिक सेवा समेत सञ्चालन गर्ने छ ।

युनिफाइड अस्पतालले शय्या खाली भएका स्वास्थ्य संस्थामा सङ्क्रमितको भर्नाका लागि आवश्यक समन्वय पनि गर्ने छ । केन्द्रीय अस्पतालले प्रदेश सरकारसँग समन्वय गरी प्रदेशस्थित सङ्घ वा प्रादेशिक अस्पताललाई कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पतालको रुपमा तोक्ने सक्ने छ ।

सङ्क्रमितको दैनिक तथ्याङ्कका आधारमा अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने बिरामीको आँकलन गरी तयारी अवस्थामा राख्न लगाउने, शय्या खाली भएका स्वास्थ्य संस्थामा सङ्क्रमितको भर्नाका लागि आवश्यक समन्वय र आवश्यकता अनुसार निर्देशन दिने सक्ने छ ।

यस्तै, अस्पतालले आवश्यकता ठानेमा जुनसुकै स्वास्थ्य संस्थालाई कोभिड– १९ अस्पतालको रुपमा सञ्चालन गर्न आदेश दिने, मन्त्रालयसँग समन्वय गरी आवश्यक भौतिक पूर्वाधार, औषधि, स्वास्थ्य सामग्री, उपकरण र अन्य आवश्यक सामग्री र जनशक्तिको व्यवस्थापन तथा परिचालन गर्ने, कोभिड– १९ को रोकथाम, नियन्त्रण, निदान र उपचारको लागि आवश्यक पर्ने उपचार सम्बन्धी मापदण्ड अस्पतालले जारी गर्ने छ ।