अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजदेखि कर्णालीको बजेट अधिवेशन, यस्तो छ कार्यसूची

आजदेखि कर्णालीको बजेट अधिवेशन, यस्तो छ कार्यसूची


सर्खुेत- कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । दिउँसो २ बजे प्रदेशसभा भवनमा बोलाइएको अधिवेशन प्रदेश सरकारले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेटका साथै कोरोना महामारी नियन्त्रणलगायतका विषयमा केन्द्रित हुनेछ ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएका अधिवेशन आह्वान, मन्त्रिपरिषद्मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजनसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।

बैठकमा दलका नेताले समसामयिक विषयमा धारणा राख्ने कार्यसूची पनि रहेको सचिव बुढाथोकीले जानकारी दिनुभयो ।

यसअघि प्रमुख प्रतिपक्षी नेकपा एमालेले अविलम्ब बजेट अधिवेशन बोलाउन माग गरेको थियो । सभामुख राजबहादुर शाहीको पहलमा बिहीबार बसेको सर्वदलीय बैठकले तत्काल अधिवेशन बोलाउन प्रदेश सरकारलाई अनुरोध गरेको थियो ।

प्रदेश सरकारले आगामी असार १ गते बजेट तथा त्यसको कम्तीमा एक साताअघि वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

प्रतिपक्षी एमाले संसदीय दलका नेता यामलाल कँडेलले सरकारले संसद् अधिवेशन बोलाउन ढिलाइ गर्दा यसपटक प्रि–बजेट छलफल हुन नसकेको बताउनुभयो । सरकारले भने कोरोना महामारीका कारण समयमै अधिवेशन बोलाउन नसकिएको बताएको छ ।