अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्य मन्त्रालयको अनुरोध : अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउनुहोला

स्वास्थ्य मन्त्रालयको अनुरोध : अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउनुहोला


काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउन अनुरोध गरेको छ । मन्त्रालयले अक्सिजन सिलिण्डरको अभावले अस्पतालमा कोभिड-१९ सङ्क्रमितको उपचारमा समस्या भएकोले जतिसक्दो चाँडो सिलिण्डर सम्बन्धित उद्योगलाई उपलब्ध गराइदिनुहुन आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै व्यक्ति, संस्था वा निकायलाई अक्सिजनको सिलिण्डर सम्बन्धित उद्योगलाई उपलब्ध गराउनु अनुरोध गर्नु भएको हो ।

उहाँले खाली सिलिण्डर समयमै भर्नका लागि उद्योगमा नपुग्दा अक्सिजनको आपूर्तिमा असर पर्ने भएकोले ति सिलिण्डर उपलब्ध गराउनु अनुरोध गर्नु भएको हो ।

‘उपचारका लागि अत्यावश्यक हुने अक्सिजन सिलिण्डर विभिन्न कारणले देशमा विभिन्न भागमा व्यक्तिका घर, टोल र आइसोलेसन तथा अस्पतालमा पुगेका छन,’ उहाँले सूचनामा भन्नुभएको छ, ‘ती सिलिण्डर समयमै र्नका लागि सम्बन्धित उद्योगमा नपुग्दा अक्सिजनको आपूर्ति प्रणालीमा असर गर्ने हुन्छ र अस्पतालमा जटिल उपचारमा रहनु भएका व्यक्तिलाई अप्ठयारो हुन्छ । त्यसैले जुनसुकै व्यक्ति संस्था वा निकायले जुनसुकै वहानामा लैजानु भएका अक्सिजन सिलिण्डर यथासक्य चाँडो जुन उद्योगको हो सोही उद्योगमा भर्नका लागि उपलब्ध गराइदिनुहुन अनुरोध छ ।’

उहाँले अस्पतललाई पनि अधिकतम मात्रामा अक्सिजन सिलिण्डर भनेर राख्नु हुन, अक्सिजन प्लान्ट वा टङ्याक मर्मत, जडान जतिसक्दो चाँडो गरी पूर्णक्षमतामा अक्सिजन सञ्चालनसमेत गर्न अनुरोध गर्नुभएको छ ।

सहप्रवक्ता डा अधिकारीले सङ्ख्यात्मकरुपमा सङ्क्रमण केही कम भएको जस्तो लक्षण देखिएपनि महामारीको उच्च जोखिम कायमै रहेको उल्लेख गर्नु भएको छ ।

अहिलेसम्म नेपालमा पाँच लाख ९१ हजार ४९४ सङ्क्रमण, चार लाख ९७ हजार ९६० निको र सात हजार ९९० सङ्क्रमणबाट निधन भइसकेका छन् ।