अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकामा नेपाली कलाकारले बनाए चलचित्र ‘घर आउ’

अमेरिकामा नेपाली कलाकारले बनाए चलचित्र ‘घर आउ’


काठमाडौं- अमेरिकामा नेपाली युवाहरूले बनाएको छोटो चलचित्र कम होम अर्थात् ‘घर आउ’ ले विश्वका चर्चित फिल्म फेस्टिभलमा ठाउँ पाउन थालेको छ ।

कम होम, अर्थात् घर आउ । यो पुकारा गर्छिन् एक आमा । आमाको भूमिका निर्वाह उमादेवी विश्वकर्माले निर्वाह गर्नु भएको छ । आमा नेपालमा, छोरा अमेरिकामा । छोराको भूमिका निर्वाह सौरमराज तुलाधरले गर्नुभएको छ ।

घर आउ फिल्ममा आमा र छोराको भिडियो कलसँगै कथा अगाडि बढ्छ । कथालाई एक वाक्यमा भन्न सकिन्छ- कोभिडको व्यथा । कोभिडले विश्व आक्रान्त बनेको बेला नेपालमा आमाको चिन्ताको कुनै सीमा हुँदैन, छोराले सुरक्षित छु भन्दै आमालाई आश्वस्त बनाउँछ । छोरालाई पनि चिन्ता छ- कतै नेपालमा आमा र परिवारलाई पनि कोभिड संक्रमण हुने त होइन ?

घरघरको चिन्ता, घरघरको कथा अनि घरघरको यस्तो व्यथालाई सर्लक्कै फिल्ममा उतारेकी छिन् किर्तना बान्सकोटाले । छोराछोरी विदेशमा, बाआमा नेपालमा । कोभिड महामारीबीच नेपाली समाजमा चिन्ताको महामारी पनि फैलियो । चिन्ताको त्यो महामारीलाई ‘घर आउ’मा जिवन्त बनाएर उतारेका छन् कलाकारहरूले ।

‘घर आउ’ फिल्म टोली अहिले दंग छ । किनभने विश्वका चर्चित फिल्म फेस्टिभलमा ‘घर आउ’ चयन भएको छ ।

अमेरिका पढ्न गएका सौरमराज अर्थात् सिडको पढाई रोकिन्छ, लकडाउ नमा कैद हुन्छन् । यता आमा व्यग्र हुन्छिन् । अहिले पढाई छैन, त्यसैले खुरुक्क घर आउनु भनेर आमाले कडा आदेश दिन्छिन् । आमाको आदेश जति कडा हुन्छ, माया उति धेरै हुन्छ । यो भावलाई सफलतासाथ उतार्नु निर्देशक किर्तना बान्सकोटाको असामान्य सफलता हो ।

बान्सकोटा फिल्मस्ले अमेरिकामा आधारित रहेर यो छोटो फिल्म बनाएको हो । बान्सकोटा फिल्म अमेरिकामा पनि सक्रिय छ भने नेपाली चलचित्रको नायकका रुपमा परिचय बनाइसकेका सौरमराज पनि अमेरिकामा सिनेकर्ममै व्यस्त छन् । तर, उमादेवीको भने अभिनय र सिनेकर्मसँग विगतमा खासै सम्बन्ध थिएन ।

अनुभवहीन उमादेवीलाई बान्सकोटा फिल्मस्ले आमाको भूमिकामा प्रस्तुत गरेको छ । तर, उनले खारिएको र जिवन्त अभिनय गरेकी छिन् ।

सार्थक फिल्म निर्माणमा रुची राख्ने किर्तनाको यो पहिलो फिल्म होइन । ‘स्नेही काख’ वृत्तचित्र बनाएर फिल्म निर्देशनमा किर्तनाले आफूलाई अब्बल सावित गरिसकेकी छिन् । ‘घर आउ’ले उनको निर्देशकीय क्षमता, गहिरो दृष्टिकोण र कलात्मक शैलीलाई अझ प्रखर रूपमा उजागर गरेको छ । अमेरिकामा बसेर फिल्म बनाउनु सजिलो छैन । झन्, सर्ट मुभि अर्थात् छोटो फिल्म बनाउन अत्यन्त चुनौतीपूर्ण हुन्छ ।

‘घर आउ’ को यति वयान गरिसकेपछि चित्त नबुझ्ने एउटा कुरा छ । यो फिल्म सर्वसाधारणले सजिलै हेर्न पाउँदैनन् । फिल्म फेस्टिभलहरुमा मात्र हेर्न पाउँछन् । अस्टिन लिफ्ट अप फिल्म फेस्टिभलमा ‘घर आउ’ ले अडियन्स च्वाइस अवार्ड हात पारिसकेको छ ।

‘घर आउ’ भ्यान्कुभर इण्डिपेन्डेन्ट फिल्म फेस्टिभलमा छनौट भएको छ । त्यसैगरी न्यूयोर्क लिफ्ट अफ फिल्म फेस्टिभल, टोकियो लिफ्ट अफ फिल्म फेस्टिभलमा पनि छनौट भएको छ । त्यसैगरी टर्कीमा हुने फिल्म फेस्टिभलमा पनि छनौट भइसकेको छ ।

आगामी दिनमा ‘घर आउ’ टोली फिल्म फेस्टिभलहरूमा प्रदर्शनमा व्यस्त हुनेछ ।