अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरा रङ्गशालामा खेलकूद प्रशिक्षण सुरु

पोखरा रङ्गशालामा खेलकूद प्रशिक्षण सुरु


कास्की- कास्की कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण रोकिएको खेलकूद अभ्यास र प्रशिक्षण पोखरामा आजदेखि सुरु भएको छ । यसै वर्ष गण्डकी प्रदेशमा तय गरिएको नवौँ राष्ट्रिय खेलकूद तथा अन्तरराष्ट्रिय प्रतियोगितालाई लक्ष्य गरी प्रशासनको अनुमतिमा आंशिकरुपमा खेलकूद अभ्यास तथा प्रशिक्षण शुरु गरिएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँले बताउनुभयो ।

सम्बन्धित खेल सङ्घले उपलब्ध गराएको खेलाडीको नामावलीअनुसार सिफ्ट विभाजन गरेर एक सिफ्टमा छदेखि १२ जना खेलाडीले प्रशिक्षण गर्ने उहाँको भनाइ छ । ‘इनडोर’ खेलका अभ्यास साँझ र बिहानमात्र सञ्चालन हुनेछन् । प्रारम्भमा क्रिकेट, लनटेनिस र मार्सल आर्टस्का प्रशिक्षण सुरु भएको र स्थिति सहज भएको खण्डमा भदौदेखि नै सबै खेलका प्रशिक्षण सुरु गर्ने तयारी गरिएको बताइन्छ ।

अध्यक्ष बानियाँले भन्नुभयो, ‘लामो सयम खेलकूद गतिविधि ठप्प हुँदा खेलाडीको प्रतिभा गुम्ने र उनीहरुमा निराशा उत्पन्न हुने भएकाले आंशिकरूपमा अभ्यास तथा प्रशिक्षण सुरुवात गरेका छौँ, गण्डकी प्रदेशको मुख्य प्रशिक्षणस्थल पोखरा रङ्गशालामा सरकारले तोकेको स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्ने गरी प्रशिक्षण सञ्चालन गर्नेछौँ ।’

गत वैशाख पहिलो सातादेखि पोखरामा सबै प्रकारका खेलकूद गतिविधि रोकिएका छन् । कोरोनाको दोस्रो लहर रोक्न वैशाख १६ देखि निषेधाज्ञा जारी गरेपछि रङ्गशाला पूर्णरुपमा बन्द भएको थियो ।

आसन्न नवौँ राष्ट्रिय खेलकूदको तयारीका लागि प्रशिक्षण सुरु गर्नुपर्ने भएकाले महानगर खेलकूद परिषद्, जिल्ला खेलकूद विकास समिति, प्रदेश खेलकूद परिषद् र राष्ट्रिय खेलकूद परिषद्का प्रतिनिधिसहितको छलफलले अभ्यास सुरु गर्न प्रशासनसँग आग्रह गर्ने निर्णय गरेको थियो । सोहीअनुसार असार ३१ गते कास्कीका प्रमुख जिल्ला अधिकारीले मापदण्ड पालना गर्ने गरी प्रशिक्षणका लागि अनुमति प्रदान गर्नुभएको बताइन्छ ।

गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालन गर्ने निर्णय तीन वर्षअघिनै भएको थियो । अघिल्लो वर्ष तय भए पनि कोरोनाका कारण निर्धारित समयमा सम्पन्न हुन नसकेपछि राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले यस वर्ष राष्ट्रिय खेलकूद आयोजनाको तयारी गरेको छ । प्रतियोगितामा गण्डकीका ११ वटै जिल्लामा कम्तिमा एक खेल आयोजना हुने बताइन्छ ।

Skip This