कोही कतै कुना कन्दरामा
लुकेर धारे हात लाउनेहरू
ज्युँदै मार्न उद्दत,
सुपरिचित फेक आइडी निर्माताहरू
राजमार्गमा धराप थापेर
मध्यरातमा लडाउने ज्यान उद्यमीहरू
खानामा “हरिताल” घोलकहरू हो
तिमीहरूका सबै सबै धरापहरूलाई
टेक्तै कुल्चँदै यहाँसम्म आइपुगेकोछु
के म मरौंला ?
अहिले जस्तो लाग्छ,
भद्रपुर एयरपोर्टमा
नेपाल पुलिसले
भररात खाडलमा पुरेथ्यो
पिनले घोचेर,पैतलामा भाटा फुटाएर
गुप्ताङ्गमा सलाइको काँटी घुसारेर
अनि,
हिटरमा उम्लेको
खोर्सानी पानी
गुदद्वारबाट”सप्लाइ”गरेको
तिनका सबै कुकर्मलाई टेकेर
यहाँसम्म आइपुगेकोछु
के म मरौंला ?
नेल भिराएनौ कि
हथकडीले बाँधेनौ कि
खानामा पिसाव फेरेर
खान बाध्य पारेनौ कि
जेल सरुवामा सडक दुर्घटनामा पर्दा होस या, घिउ पैह्रामा बाहन सहित पुरिंदा,
ज्यादतीका बिरुद्ध
महिना महिना दिनका अनसनले गलाउँदा
मानसिक यन्त्रणा र तनावमा पारेर
सिध्याउने अनेक हर्कतलाई टेकेर
यहाँसम्म आइपुगेकोछु भने
के म मरौंला ?
हिरासतका कठोर दिनको सम्झना आउने गर्छ
जहाँ,
महिनौं कोचिनु पर्थ्यो
दिसा पिसाव बन्दगरेर
दिन रात काट्नुपर्थ्यो
खुट्टा बाँधेर पाइखानामा
टाउको घुसार्दा होस या
बाल्टी भरिको पानी
लगातार पिउन बाध्य पार्दा त्यसले त
मरिएन भने
के म मरौंला ?
आफ्नै मिहिनेतले स्थापित
राजनीतिक व्यवस्था भित्र पनि
आँधि र तुफानमा परेर
हजारौं गोलीका भूमरीमा परेर पनि
घात अन्तरघातका ब्यथा सहेर पनि
अनि भर्खरै मात्र पटक पटक
टाउकामा बिहिनी लगाएर
रक्त मुछेल भएर
घण्टौं घण्टा
बेहोस हुँदा पनि
मरिएन भने
साम्राज्यको गर्भधानबाट जन्माइएको
सुक्ष्म किराको संक्रमणले
मरिएला त ?
अहँ म पटक्कै मर्दिन !
फेरि पनि एकदिन
म अवश्य मर्नेछु
देशको रक्षा खातिर
सिमा क्षेत्रमा
छातीमा गोली दागिएर मर्न पाउँ
त्यो क्षणमा तिमीहरुको होइन
यो राष्ट्रको इच्छा पूरा हुनेछ ।
प्रतिक्रिया