काठमाडौं– लेखक तथा नागरिक समाजका अगुवा खगेन्द्र संग्रौलाले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्दा हुने बताउनुभएको छ ।
संग्रौलाले ट्विट गर्दै लेख्नुभएको छ, ‘न साझा न विवेकशीलका सम्भ्रान्त श्री रवीन्द्र मिश्रलाई संघीयताको खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह चाहिएछ । कुराको चुरो यही हो भने यी नवमण्डलेले खुरुक्क कमल थापाको राजावादी राप्रपामा प्रवेश गरे भइगो नि !’
अध्यक्ष मिश्रले सोमबार संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अगाडि सार्नुभएको थियो ।
मिश्रको प्रस्तावलाई लिएर अहिले चारैतिर चर्को आलोचना भइरहेको छ । विवेकशीलकै नेता मिलन पाण्डेले मिश्रको प्रस्तावमा मतभेद देखाउनुभएको छ ।
पाण्डेले मिश्रको धारणा पार्टीको आधिकारिक धारणा नभएको र यसबारेमा पार्टीमा छलफल गरिने पनि बताउनुभएको छ ।
बाबुरामको भनाइ यस्तो छ
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत मिश्रको प्रस्तावलाई झिंगाको सरापले डिंगा नमर्ने भन्दै कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीको विरूद्ध बोल्यो भन्दैमा तरंगित हुन नपर्ने बताउनुभएको छ । उहाँको भनाइ छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन् भन्न डराउनुपर्दैन ।’ वैकल्पिक राजनीतिको सपना बोकेका युवाहरूलाई सतर्क रहन समेत उहाँले आग्रह गर्नुभएको छ । ट्विट यस्तो छ- ‘झिंगाको सरापले डिंगा मर्दैन! कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीको विरूद्ध बोल्यो भन्दैमा तरंगित हुनपर्दैन।संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन् भन्न डराउनुपर्दैन!बरू वैकल्पिक राजनीतिको सपना बोकेका युवा सतर्क रहून !’
प्रतिक्रिया