अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमतीमा एमाले, नेकपा र राप्रपाबीच सत्ता सहकार्यको ६ बुँदे सहमति

बागमतीमा एमाले, नेकपा र राप्रपाबीच सत्ता सहकार्यको ६ बुँदे सहमति


हेटौँडा-बागमती प्रदेशमा नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच सरकार गठन तथा सञ्चालनका विषयमा ६ बुँदे सहमति भएको छ।

संविधानको सर्वोच्चता, लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक स्थायित्व, सुशासन तथा समृद्ध बागमती प्रदेश निर्माणलाई साझा उद्देश्य बनाउँदै तीन दलबीच सत्ता सहकार्यको समझदारी भएको हो।

मंगलबार भएको सहमतिअनुसार प्रदेश सरकारमा सत्ता साझेदार दलहरूको दलीय हैसियतका आधारमा मन्त्रालय बाँडफाँट गरिनेछ। मन्त्रालयको संख्या भने हाल कायम आठभन्दा नबढाउने सहमति भएको छ।

त्यस्तै, प्रदेश सभाको रिक्त सभामुख पद नेपाली कम्युनिस्ट पार्टीबाट निर्वाचित गर्ने समझदारी भएको छ। सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार गरी आगामी सात दिनभित्र सार्वजनिक गर्ने सहमति पनि भएको छ।

न्यूनतम साझा कार्यक्रम तयार गर्न तीन दलका सात सदस्यीय समिति गठन गरिएको छ। समितिमा नेकपाबाट रत्न ढकाल, उर्मिला लामा र लक्ष्मण लम्साल, एमालेबाट डा. दिनेशचन्द्र देवकोटा र केशवप्रसाद पोखरेल तथा राप्रपाबाट राजेन्द्र प्रजापती र नुरज बज्राचार्य रहेका छन्।

सहमति पत्रमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, एमाले संसदीय दलका नेता जगन्नाथ खतिवडा, नेकपा संसदीय दलका नेता शालिकराम जमरकट्टेल र राप्रपा संसदीय दलका नेता उद्धव थापाले हस्ताक्षर गरेका छन्।

सहमति अनुसार सरकार सञ्चालनका लागि नेकपाको नेतृत्वमा सरकार सञ्चालन संयन्त्र गठन गरिनेछ। मन्त्रिपरिषद्को मर्यादाक्रममा मुख्यमन्त्रीपछि नेकपाको प्रतिनिधि र त्यसपछि राप्रपाको प्रतिनिधि रहने व्यवस्था गर्ने पनि सहमति भएको छ।

तीन दलबीचको सहमतिले बागमती प्रदेशमा नयाँ सत्ता समीकरणअनुसार सरकार सञ्चालनको बाटो खुलेको छ।