पर्वत-कालीगण्डकी नदीको कटानका कारण पर्वत र बागलुङ जोड्ने मालढुंगास्थित कालीपुल जोखिममा परेको छ। कालीगण्डकी नदीमा भइरहेको दोहनका कारण नदीको धार परिवर्तन हुँदा पुलको पर्वततर्फको भागमा कटान बढेको हो।
पुलको पिलर छेउमा कटान भएको भाग अहिले त्रिपालले ढाकेर राखिएको छ। यसअघि पनि करिब चार वर्षअघि नदीले पुलको जगमा क्षति पुर्याएपछि संरक्षणका लागि पर्खाल निर्माण गरिएको थियो। तर, नदीमा आएको बाढीले उक्त पर्खालसमेत बगाएको थियो।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने यो पुल जोखिममा परेपछि दैनिक हजारौँ यात्रु जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्। कालीगण्डकी नदीको बहाव बढेको अवस्थामा पुलको तल्लो पिलरको जगमै कटान पुगेर संरचनामा गम्भीर क्षति पुग्न सक्ने जोखिम रहेको छ।
पुललाई दीर्घकालीन रूपमा सुरक्षित राख्न नदीको धार नै परिवर्तन गर्नुपर्ने अवस्था देखिएको छ। नदीको कटानका कारण मालढुंगा बजार तथा आसपासका घरसमेत जोखिममा परेका छन्।
यो पुल हुँदै बागलुङसँगै म्याग्दी, मुस्ताङ, गुल्मी, रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, सल्यानलगायत पश्चिम नेपालका विभिन्न जिल्लामा दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्छन्। पुलमा क्षति पुगेमा पश्चिम नेपालसँगको यातायात सम्पर्कमा समेत गम्भीर असर पर्ने देखिन्छ।
सम्बन्धित निकायले समयमै नदी नियन्त्रण तथा पुल संरक्षणका लागि प्रभावकारी कदम नचाले आगामी बाढी र नदीको बहाव बढ्दा पुलमा थप क्षति पुग्ने स्थानीयको चिन्ता छ।




प्रतिक्रिया