काठमाडौं-काठमाडौंमा भाडाको घरमा बस्दै आएका एक चिनियाँ नागरिक स्रोत नखुलेको ३१ लाख रुपैयाँ नगदसहित पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौं महानगरपालिका–१५ चौमतीबाट ५२ वर्षीय चिनियाँ नागरिक मा युगुबीलाई पक्राउ गरेको हो। उनको पासपोर्ट नम्बर ईएल १७८१३८ रहेको प्रहरीले जनाएको छ।
चिनियाँ नागरिकले घर भाडामा लिएर लागुऔषध कारोबार गर्दै आएको विशेष सूचना पाएपछि ब्यूरोबाट खटिएको प्रहरी टोलीले खोजतलास गरेको थियो। त्यस क्रममा उनलाई स्रोत नखुलेको नगदसहित पक्राउ गरिएको हो।
प्रहरीका अनुसार उनको साथबाट पासपोर्ट, सुन काट्न प्रयोग हुने कैँची, ह्याम्मर, डिजिटल तराजु, क्यालकुलेटर, विभिन्न कम्पनीका चार थान मोबाइल, एनआईएमबी बैंकका दुई थान चेकबुक र एनआईसी एसिया बैंकको एक थान चेकबुक बरामद भएको छ।
पक्राउ परेका युगुबीलाई बरामद नगद तथा अन्य सामानसहित थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिएका छन्।
ब्यूरोका अनुसार उनी हालसम्म ६ पटक नेपाल आएर फर्किएको र पछिल्लो पटक सन् २०२६ जुलाई २३ मा नेपाल आएको अभिलेखबाट देखिएको छ।



प्रतिक्रिया