काठमाडौं-सप्तरीमा दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका-२ कन्कपट्टी टोल घर भई हाल शम्भुनाथ नगरपालिका-३ ट्राफिक बजारमा बस्दै आएकी २५ वर्षीया मुस्कान भनिने जास्मिन खातुन रहेकी छन्।
प्रहरीका अनुसार साउन ७ गते बिहान करिब १०ः३५ बजे शम्भुनाथ नगरपालिका–३ स्थित घर पछाडिको झाडीमा दुई वर्षीया बालिका मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि मृतककी आमा रुबिना खातुनले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएकी थिइन्।
जाहेरीका आधारमा अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले जास्मिनलाई पक्राउ गरेको हो। प्रहरीसँगको प्रारम्भिक सोधपुछमा उनले बालिकाको हत्या आफूले नै गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकी जास्मिन मृतक बालिकाका बुबा मोहम्मद इरफानकी कान्छी श्रीमती हुन्।
घटनासम्बन्धी कर्तव्य ज्यान मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ। घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।



प्रतिक्रिया