काठमाडौं– नेकपा एमालेले भूतपूर्व गोर्खा सैनिकहरूको समस्या समाधानका लागि तत्काल कुटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ । आज विज्ञप्ति जारी गर्दै एमालेले भूतपूर्व गोर्खा सैनिकको समाधान गर्न अबिलम्ब पहल गर्न आग्रह गरेको हो ।
‘समानताको सिद्धान्तलाई आधार मानेर तथा नेपाल र बेलायतबीचको दुई सय वर्षभन्दा पुरानो ऐतिहासिक सम्बन्धलाई ध्यानमा राखेर यस समस्याको समाधान गर्न बेलायत सरकारसँग अविलम्ब कुटनीतिक पहलका लागि नेकपा (एमाले) नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ,’ पार्टी प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एमालेले भूपू गोर्खा सैनिकहरूले उठाएको समानताको आवाज स्वाभाविक, जायज र मानवीय रहेको समेत उल्लेख गरेको छ । साथै, एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले भूपू गोर्खा सैनिकको समस्या समाधानका लागि सन् २०१९ मा बेलायती समकक्षीसँग औपचारिक रूपमै त्यस विषयमा कुरा राखेको स्मरण गराएको छ ।
‘पूर्ववर्ती सरकारले भूपू गोर्खा सैनिकहरुका सरोकारलाई संवोधन गर्न बेलायती सरकारलाई बारम्बार आग्रह गरेको, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ को जुनमा भएको बेलायतको औपचारिक भ्रमणका क्रममा आफ्ना बेलायती समकक्षीसँग औपचारिक रुपमै गोर्खा भर्ती सम्बन्धी त्रिपक्षीय सन्धीको समग्र पुनरावलोकन गर्ने प्रस्ताव राख्नुभएको र दुई देशबीच गोर्खा सैनिक विषयमा निरन्तर छलफल गर्दै जाने सहमति भएको प्रसङ्ग स्मरणीय छ,’ विज्ञप्तिमा भनिएको छ ।
भूतपूर्व गोर्खा सैनिकले आफ्ना बेलायती सहकर्मीहरू सरह पेन्सनलगायत समान सुविधा पाउनुपर्ने माग राखेर लामो समयदेखि आन्दोलन गर्दै
आएका छन् । उनीहरू केही दिनअघि पनि लण्डनमा अनसनसमेत बसेका थिए ।
प्रतिक्रिया