अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओली र नेपालको साथ पाएर मुख्यमन्त्री भएकी हुँ : अष्टलक्ष्मी शाक्य

ओली र नेपालको साथ पाएर मुख्यमन्त्री भएकी हुँ : अष्टलक्ष्मी शाक्य


काठमाडौं– बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री एवम् नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पार्नु भएको छ ।

उपाध्यक्ष शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढ्ने विश्वास समेत व्यक्त गर्नु भयो । नेकपा एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुनेतर्फ पनि सिंगो पार्टी पंक्तिको ध्यानाकर्षण गराउनुभयो ।

उपाध्यक्ष शाक्यले आफू अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएको उल्लेख गर्दै बाहिर-बाहिर नेता नेपाललाई धोका दिएको भन्ने खालको गलत सन्देश दिएर पार्टीको एकतालाई कमजोर बनाउने काम नगर्न पनि पटकपटक आग्रह गर्नुभयो ।

‘म मुख्यमन्त्री हुनुमा दुवै नेताहरूको साथ छ । सहमति छ । अनि बाहिर बाहिर कुरा आउँछ, अष्ट त के-के भयो, के-के भनेर । लामो समयसम्म फलाना नेतालाई साथ दिएर लाग्ने, अनि मुख्यमन्त्री पाएपछि त अर्कोतिर भनेर भन्नुभयो, यो गलत कुरा हो’, उहाँले भन्नुभयाे, ‘गलत सन्देश दिने काम नगरी दिनुहोस् । जे छ, त्यहीँ कुरा बाहिर आयो भने त्यसले पार्टी एकताका लागि हौसला बढाउँछ, प्रेरणा मिल्छ । मलाई दृढ विश्वास छ-केही समयपछि नेकपा एमाले एकजुट भएर अघि बढ्नेछ ।’

मुख्यमन्त्री शाक्यले निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलसहितको सल्लाहमा प्रदेश सरकारलाई अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उहाँले निवर्तमान मुख्यमन्त्री र निवर्तमान मन्त्रीहरुको परामर्शको आधारमा अघि बढ्दा नै प्रदेश सरकारले राम्रो काम गर्न सक्ने विश्वास समेत व्यक्त गर्नु भयो ।

यस्तै, मुख्यमन्त्री शाक्यले नेकपा एमालेले मात्रै देशलाई अघि बढाउन सक्ने भएकाले यो पार्टीलाई एकतावद्ध बनाएर लैजानुको विकल्प नरहेको पनि बताउनुभयो ।