अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गौतमबुद्ध विमानस्थलको काम रोके मान्य हुन्न : विष्णु पौडेल

गौतमबुद्ध विमानस्थलको काम रोके मान्य हुन्न : विष्णु पौडेल


रूपन्देही- नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम नरोक्न प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सुझाव दिनुभएको छ ।

अघिल्लो केपी ओली नेतृत्वको सरकारले अगाडि बढाएको दोस्रो चरणको निर्माण कार्य वर्तमान सरकारले नगरेको भन्दै पौडेलले आक्रोश व्यक्त गर्नुभएको छ ।

उद्योग व्यापार संगठन रूपन्देहीको साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा शनिबार भैरहवामा बोल्दै पौडेलले अघिल्लो नेतृत्वको सरकारको पालामा भएका निर्णयलाई कार्यान्वयन गर्दै एसियाली विकास बैंक (एडीबी) सँग चाडो सम्झौता गरेर बजेटको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गर्नुभएको छ ।

‘हामीले दोस्रो फेजका काम अगाडि बढाएका थियौं । जसअन्तर्गत आउँदो ५० वर्षलाई धान्ने अत्याधुनिक टर्मिनल बिल्डिङ (टिटु) बनाउने, टयाक्सी वे र फराकिलो पार्किङलगायतका आधुनिक पूर्वाधार तयारी गर्ने कार्य अगाडि बढाउन एडीबीले ७ अर्ब लगानी गर्ने र नेपाल सरकारले ७ अर्ब गरी १४ अर्ब लगानीमा दोस्रो चरणको काम अगाडि बढाउने मोडालिटी तयार भएको थियो’, पौडेलले भन्नुभयो, ‘एडीबी ऋण सम्झौता गर्न तयार अवस्थामा छ, तर वर्तमान सरकार कानमा तेल हालेर बसेको छ, काम अगाडि बढाएन । यो भन्दा दुःखको कुरा अरु के हुन सक्छ र ?’

पौडेल भन्नुहुन्छ, ‘गत असार महिनामा मैले ‘दोस्रो चरण’को पूर्वाधार बनाउन ‘काउन्टर पार्टस् फन्ड’ सरकारले व्यहोर्ने जानकारीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई पत्र पठाएको थिएँ । त्यसको आधारमा एडीबीसँग सम्झौता भएर अहिलेसम्म अन्तर्राष्ट्रिय बहुवर्षीय ठेक्का आह्वान भइसक्नुपर्ने थियो । तर सरकार परिवर्तन भएपछि एडीबीसँग सम्झौता गरिएको छैन । योजनाको काम सरकारले होल्ड गरेर बसेको छ ।’

उहाँले विमानस्थलको काम रोकिएमा लुम्बिनी प्रदेश र रूपन्देहीका जनताको विरोधको सामना गर्न तयार रहन सरकारलाई चुनौती दिनु भएको छ । विमानस्थललाई देशकै मुहार फेर्ने आयोजनाका रूपमा लिइएको छ । पौडेलले अहिलेको सरकारसँग केही अपेक्षा गर्न नसकिने समेत बताउनुभयो ।