अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिबाट जितिया पर्वको शुभकामनाः समतामूलक समाज निर्माणका लागि अग्रसर हुन आग्रह

राष्ट्रपतिबाट जितिया पर्वको शुभकामनाः समतामूलक समाज निर्माणका लागि अग्रसर हुन आग्रह


काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वले समाजमा विद्यमान अन्धविश्वास, विभेद र हिंसालाई अन्त्य गर्दै सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले जितिया पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुका लागि शुभकामना व्यक्त गर्नुभएको हो । नेपालको तराई क्षेत्रमा बसोबास गर्ने मधेसी तथा थारू समुदायका महिलाहरुले जितियालाई आफ्नो सन्तानको सुख र समृद्धिका निमित्त मनाइने एउटा महत्वपूर्ण चाडका रूपमा लिने गर्दछन् । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन मधेसी तथा थारू महिलाले सन्तानको सुख, शान्ति, आरोग्य र चिरायुको कामना गर्दै निराहार कठोर व्रत बसी लोकदेवता जिमुतवाहनको कथा सुन्ने एवं नाचगान गरी रमाइलोसँग मनाउने परम्परा रहेको छ ।

“भौगोलिक, सामाजिक र सांस्कृतिक विविधतायुक्त हाम्रो मुलुकमा मनाइने यस्ता पर्वले परिवार र समुदायमा आपसी प्रेम, विश्वास र सहयोगको भावनालाई प्रगाढ बनाउनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छु,” राष्ट्रपतिबाट जारी सन्देशमा भनिएको छ, “हाम्रो मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता चाडपर्व मनाउने सन्दर्भमा परम्पराका नाममा प्रचलित कतिपय अव्यावहारिक पक्षलाई समयानुकूल सुधारसमेत गर्दै जानुपर्छ भन्ने लागेको छ ।”