काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनगणनाले वास्तविक विकासका लागि मार्गदर्शन गर्ने बताउनुभएको छ ।
१२औं राष्ट्रिय जनगणना २०७८ प्रारम्भ भएको अवसरमा एक सन्देश दिंदै अध्यक्ष ओलीले राष्ट्र विकासको महत्वपूर्ण माध्यम जनगणना भएको उल्लेख गर्नुभएको छ ।
अध्यक्ष ओलीले राणाकालिन समयको जनगणनाको स्मरण गर्दै त्यसबेला राज्यलाई कर तिर्ने प्रयोजनका लागि सुरु गरिएको जनगणनाको महत्व र आवश्यकता अहिले व्यापक भएको उल्लेख गर्नुभएको छ ।‘ राणाकालिन समयमा राज्यलाई कर तिर्ने नागरिकहरुको सुची तयार गर्नका लागि सुरुवात गरिएको जनगणनाको व्यापकता अहिले धेरै बढेको छ’ ओलीले सन्देशमा भन्नुभएको छ ‘ नेपालमा जनगणना सुरुवात भएको १ सय १० वर्षको अवधीमा जनगणनामा लिइने सुचनामा धेरै परिवर्तन भइसकेको छ ।’
८० वटा प्रश्न मार्फत केन्द्रीय तथ्यांक विभागले नेपाली समाजको स्पष्ट चित्र उतार्ने ओलीले बताउनुभएको छ । ‘केन्द्रीय तथ्यांक विभागले मुल तथा सहायक गरी ८० वटा प्रश्नहरु मार्फत समाजका विभिन्न अवस्थाहरुको बारेमा एकिकृत रुपमा जानकारी लिदैछ’ ओलीले सन्देशमा भन्नुभएको छ ‘ यिनै जानकारीका आधारमा निर्माण भएका तथ्यांकको प्रयोग गरेर हामीले लक्षित वर्गको उत्थानका लागि यर्थाथपरक योजना बनाउन सक्दर्छौं ।’
यसपालीको जनगणनामा सामुदायिक प्रश्नावली मार्फत पनि हाम्रा वडाहरुमा भएका सामुदायिक भवन र अन्य भौतिक पूर्वाधार र सरकारी सेवामा पहुँचको अवस्थाको पनि जानकारी लिइने भएकोले स्थानीय सरकारहरुलाई पनि आफूले प्रदान गर्ने सेवा प्रभावकारी बनाउन सहज हुने विश्वास व्यक्त गर्नुभएको छ । ‘यस पटकको जनगणनाले हाम्रा स्थानीय तहहरुलाई आफ्ना नागरिकलाई सहज सेवा प्रवाह गर्नका लागि अहिलेको पूर्वाधारलाई कसरी विस्तार गर्ने भन्ने महत्वपूर्ण जानकारी पनि दिनेछ’ अध्यक्ष ओलीको सन्देशमा भनिएको छ ।
अध्यक्ष ओलीले जनगणना सफल पार्न सम्पूर्ण राजनीतिक दलका नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।







प्रतिक्रिया