अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छिन्ताङ हत्याकाण्डका ४३ वर्ष : ‘सहिदको सपना पूरा भा’छैन’

छिन्ताङ हत्याकाण्डका ४३ वर्ष : ‘सहिदको सपना पूरा भा’छैन’


“गड्याङ र गुडुङ मेघ पनि होइन,
आकासै सफा छ, छिर्का र छिर्कि पानी त होइन रगतको टाटा छ”

जब मैले यो गीत बाल्यकालमा सुनेँ । यो कालजयी गीतले बालमष्तिष्कमा तरङ्ग ल्याइदिएको थियो । पछि अग्रजहरुबाट सुने यो गीतको पृष्ठभूमि मैले सोचे जस्तो हल्का रहेनछ । यो गीतले २०३६ सालमा भएको छिन्ताङ हत्याकाण्डको तस्बिर कोरेको कुरा र त्यस समयमा घटेको घटनाको इतिवृतान्त कुनै दन्त्यकथा भन्दा कम थिएन ।

सन्दर्भले उच्च शिक्षा अध्ययन गर्ने क्रममा सहिदहरुको प्यारो भूमि विचरण गर्ने अवसर पाएको थिएँ धनकुटा बसाइमा । धनकुटा सदरमुकामबाट करिब ३० किलोमिटर पश्चिम दिशामा केही चर्चित गाउँहरु छन् । ती गाउँहरुलाई खोकु छिन्ताङ र आँखिसल्ला भनिन्छ । वास्तवमा यी तीनै गाउँ सहिद गाउँ हुन् तर चर्चामा आउने नाम चाहिँ छिन्ताङ हो । अलि पछि किशोर थुलुङले “खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा, मन सबको रुन्छ कि दुख बिसाउँदा” भन्ने गीतले खोकु छिन्ताुङ एउटै गाउँ हो कि भन्ने द्विविधा पनि हुन्थ्यो तर यथार्थ त्यस्तो थिएन । खोकु र छिन्ताङ गाउँ बेग्ला बेग्लै गाउँ हुन् । यी तीनै गाउँहरुमा राई जातिको घना वस्ती छ । राईहरुको घना बस्ती भएको हुनाले यी तीनै गाउँ खोकु छिन्ताङ र आँखिसल्लाको नाम बेग्लै थियो मुन्दमी भाषामा । त्यसबेलाको आँखिसल्ला गाउँलाई मुन्दुमी भाषामा आम्बिरा र लेगुरा भनिन्थ्यो, खोकुलाई कुमिसा र छिन्ताङलाई वाचोम्स र दुरुम्सा भनिन्थ्यो । यसरी मुन्दमी भाषा अनुसार यी ५ गाउँहरु तत्कालिन प्रशासनिक संरचनामा भने खोकु, छिन्ताङ र आँखिसल्ला गाउँ विकास समितिमा विभक्त गरिएको थियो । हाल यी तीनै गाउँहरु खोकु छिन्ताङ र आँखिसल्लालाई समेटेर अहिलेको नयाँ पुनसंरचनामा सहिदभूमि गाउँपालिका भनी न्वारान गरिएको छ । आजको दिनमा यी तीनै गाउँहरु सहिदभूमि गाउँ भएकाछन् । र, हिजोको चर्चित छिन्ताङ गाउँ आजको सहिदभूमि गाउँमा परिवर्तन भइसकेको छ ।

छिन्ताङ हत्याकाण्ड पृष्ठभूमि
देखिने गरी भन्ने हो भने छिन्ताङमा घटेको घटना २०३६ सालको हत्याकाण्डसँग सम्बन्धित छ । तर, २०३६ को कत्लेआम गरिएको घटना २०३६ सालमा कुनै रातारात मञ्चन गरिएको घटना थिएन। यो घटना कुनै आकस्मिक घटाइएको पनि थिएन । अनेकौं र असंख्यौं वीर विरङ्गनाहरुको बलिदान र त्यागबाट हामी अहिलेको युगान्तकारी परिवर्तनको दिशातिर लम्किरहेका छौं । त्यसकै कडीको महत्वपूर्ण घटनाक्रम थियो त्यो । नेपालको राजनीतिक इतिहास निर्माणको क्रममा छिन्ताङले एउटा कोसेढुंगा थपेको थियो । तत्कालिन पञ्चायती शासनको अन्त्य र समाजका विद्यमान शोषकहरुका विरुद्धमा उठेका स्वतस्फुर्त आन्दोलनलाई दबाउने नाममा निरक्षर, सोझासिधा गरिखाने क्रान्तिकारी किसानहरुलाई कत्लेआम गरिएको थियो । छिन्ताङमा त्यतिबेला भोकमरी थियो, अनिकाल थियो । उनीहरुको भोको पेटले खान खोज्नु नै अपराध हुन्थ्यो। उनीहरु अनेक खाले अभावबाट गुज्रिरहेका थिए, अभावको विरुद्ध जुध्नु नै अराष्ट्रियताको दाग लाग्थ्यो । त्यस बेला अन्यायको विरुद्धमा लड्न पाप हुन्थ्यो । उनीहरु निरक्षर थिए, साक्षरताको नारा उठाउनु नै पञ्चखत हुन्थ्यो । यी सबै आरोपहरु छिन्ताङ हत्याकाण्ड तानाबाना बुन्नको लागि तत्कालिन शासकले अपनाइएको अस्त्रमात्र थियो । यहि पृष्ठभूमि त्यहाँका जनता जिविकोपार्जनको अप्ठ्यारो र अभावमा लडिरहेकाथिए एकातिर भने अर्काे तर्फ मझियालाई चर्काे कर तिर्नुपर्ने बाध्यता थियो । बलपूर्वक उनीहरुको सम्पूर्ण काम जनताले बिना ज्याला गरिदिनुपर्ने जबरजस्त परिस्थिति थियो । यस्तो अन्याय र शोषणको विरुद्धमा छिन्ताङका युवाहरुले स्वतस्फुर्त ढंगले आवाज उठाए, विरोध गरे । उनीहरुको एक मात्र नारा थियो “तिरो नतिरौं, शोषण नसहौं” । त्यही सन्दर्भमा विभिन्न कालखण्डमा उठेको आन्दोलन नै तत्कालिन शासकहरुका लागि अराष्ट्रिय तत्वको आन्दोलन भयो । देशद्रोही र विखण्डनकारीको आन्दोलन भयो ।

विस्तारै ती युवा, किसान, महिलाहरुको परिवर्तन प्रतिको आकांक्षा र शोषण विरुद्धको लडाइँलाई तत्कालिन कम्युनिष्ट पार्टीहरुले पूँजीकृत गर्ने प्रयास गर्नथाले । त्यसपछि यी सबै कामको अगुवाई तत्कालिन अवस्थामा छिन्ताङमा शिक्षकका रुपमा भित्रिएका व्यक्तिहरु बम देवान र गोविन्द विकलको अगुवाइ हुनथाल्यो । विष्णुमाया मझेनीले स्थापना गरेको पुस्तकालयमा प्रगतिशील पुस्तकहरु राखेर लालिगुराँस नामाकरण गरी भक्त बोलना राईको अध्यक्षतामा मार्क्सवादी अध्ययन चिन्तन र राजनीतिक चेतनाको अभिवृद्धि गर्ने अभियानलाई अगाडी बढाइयो । त्यसै पुस्तकालयको माध्यमबाट तत्कालिन पूर्व कोशी प्रान्तियका नेताहरु मनमोहन, भरतमोहन, मोहनचन्द्र, मोहन पोख्रेल, जनार्दन आचार्य, कमल कोइराला आदि त्यस क्षेत्रमा प्रशिक्षण दिन जान थाले । यसरी छिन्ताङमा अभाव, चर्काे कर, शोषण आदिको रुपमा उठेको जनविद्रोह बिस्तारै कम्यूनिष्ट सिद्धान्त र संगठनले लैस हुनथाल्यो । र, उनीहरु सबैलाई माक्र्सवादका राता ठेली अनुसार प्रशिक्षित गर्न गराउन शुरु गर्न थालियो । वास्तवमा छिन्ताङ हत्याकाण्डको श्रीगणेश यहिबाट शुरु भएको थियो ।

यहि संगठनात्मक प्रयासको बाबजुद २०२८ सालमा “मझिया परिवार शोषक परिवार” भन्ने पम्पलेट प्रचारमा आयो । मझियाहरुको ढिकुटीबाट टिप्पणी उठाएर अन्न जनतालाई बाँडियो । यो काण्डमा विभिन्न व्यक्तिहरु उपर मुद्दा चलाइयो । बम देवानलाई केहि हप्ता हिरासतमा राखिए पनि अरु आरोपितहरु भक्त बोलना, गणेश नाइका, गंगाबहादुर आदि फरार भए । यसरी नै छिमेकी गाउँ आँखिसल्लाको माङफिङमा पञ्चलाल राईको नेतृत्वमा २०२८ सालतिरै एक जालि फटाहालाई कालोमोसो दली गाउँ घुमाइयो । यसरी नै २०३१ सालको अनिकालमा रामलाल मझियाको ढिकुटी फोरेर जनतालाई धान कोदो बाडिएको थियो । यस मुद्दा अन्तरगत भक्त बोलना, गंगाबहादुर राई लगायतलाई केही हप्ता हिरासतमा राखिएको थियो । यी र यस्ता गतिविधिहरु छिन्ताङ र यसका वरिपरि छिमेकी गाउँहरुमा बढिरहेको थियो । यस्तो बदलिदो परिस्थितिबाट तर्सिएर तत्कालिन स्थानीय पञ्चहरुले प्रशासनमा हारगुहार मागिरहेका थिए तर उनीहरुको हारगुहार सुन्नलाई केहि वर्ष कुर्नैपर्यौ । उनीहरुको हारगुहार तत्कालिन शासकहरुले २०३६ सालमा मात्र सुने जसको फलस्वरुप २०३६ सालको छिन्ताङ हत्याकाण्ड भयो । यस हत्याकाण्डको लागि २०३६ को सुरु महिनातिर पुर्वाञ्चलका सबै सुरक्षा प्रमुख, बढे पञ्चहरुको भेला सुनसरीमा गोप्यरुपमा भयो ।

भेलाको योजना मुताविक छिन्ताङलाई घेर्ने र आम कत्लेआम गर्ने तानाबानासहितको एउटा गोप्य योजना बन्यो र त्यही योजना मुताविक २०३६ को कार्तिकको अन्तिम हप्ता छिन्ताङ छिर्ने काम भयो । तत्कालिन डि.आइ.जी. डि.बि. लामा, तत्कालिन अञ्चलाधीश शत्रुघ्न प्रसाद सिन्हा, तत्कालिन जिल्ला पञ्चायत सभापति विष्णुप्रसाद लिम्बू, तत्कालिन सि.डि.यो. बीरबहादुर भूजेल, तत्कालिन एस.पी. रामबहादुर श्रेष्ठ, तत्कालिन डि.एस.पी. श्याम चापागाई, तत्कालिन इन्सपेक्टर प्रताप बान्तवा आदिको योजनामा छिन्ताङलाई चारैतिर घेर्ने योजना सहित चारैवटा प्रहरी टोलीलाई खटाइयो ।

इनरुवा प्रहरी टोली चतरा, त्रिवेणी, गुठीखेत, ललानी हुँदै छिन्ताङ भित्रियो । त्यसरी नै तेह्रथुम र सुनसरी प्रहरी टोली बेग्ला बेग्लै समयमा थलथले, खोकु हुदै छिन्ताङको मुलगाउँ भित्रियो । त्यसरी नै धनकुटाको प्रहरी टोली मुलघाट, साप्टेनटार हुदै छिन्ताङ भित्रियो । यसरी सबै क्षेत्रबाट छिन्ताङलाई नाका लगाएर स्थानीय पञ्चको सिफारिसमा त्यहाँका सोझा, सिधा, निमुखा जनताहरुलाई गोलीले उडाइयो । एउटै गाउँमा १५ जना भन्दा बढिको एउटै चिहान हुनु त्यसबेलाको समयमा चानचुने कुरा थिएन अवश्यै पनि । त्यसबेला ती अमर सहिदहरुको पारिवारिक सदस्यको आँखाबाट त्यो विदारक घटना अनुभूत गर्ने हो भने कस्तो पिडादायी र आततायी थियो होला, कल्पना बाहिरको कुरा हो यो । उहाँहरुको पारिवारिक सदस्य त कहाँ हो कहाँ त्यो गाउँको बासिन्दा हुदाको मात्रै पिडा पनि कस्तो विदारक थियो होला । ६३ वर्षे लाखमान साधुदेखि हाङखिमा साइँली जस्ता सुत्केरी महिला र अर्की एक महिलाहरुलाई बलात्कार गरी मारिएको घटनाको वास्तविक चित्र कस्तो होला । यस्तो जघन्य अपराध के शब्दमा चित्रित गर्न सम्भव होला र? हो त्यहि भएको थियो छिन्ताङ हत्याकाण्डमा ।

वेवारिसे सहिदहरु

छिन्ताङ हत्याकाण्ड यता छिन्ताङको फेदीमा बग्ने सुन्दर नदीहरु अरुण र तमोरमा धेरै पानी बगिसकेको छ । अरुण र तमोरका पानीहरु सहिदहरुको रगतले रंगिएको पनि अहिले ४२ वर्ष पुगिसकेछ । सायद ती नदीहरुमा मिसिएको रगत पनि अब बिर्सिइसकियो होला । यस्तो जघन्य मानवता प्रतिको प्रतिशोध शायद इतिहासकै गर्वमा रहन्छ होला । घटना घटे यता सधै झै दलहरुको काम कात्तिकको अन्तिम हप्तातिर सहिद सप्ताहको औपचारिकतामा सीमित होला अनि त्यहाँ गएर नेताहरु गोहीको आँसु पनि झार्दा हुन कति । सधैं झै, सहिद सप्ताह भरी एकातिर एमालेले सहिद हाम्रो हो भनेर एउटा कुनामा झण्डा गाडेको होला अनि अर्काेतिर माओवादीले, अब यी दलहरुको अलवा नेकपा (एकिकृत समाजवादी) पनि थपिएको होला ।

सायद सहिदको भागबण्डा पनि सधै झै गर्दा हुन् र आफ्नो भागमा जम्मा १५ जनामा ८ जना हाल्दो हो अनि अर्काेकोमा ७ या यस्तै यस्तै । त्यसपछि बहुमत सहिद परिवारहरु आफ्नो पक्षमा लागेका छन् भनेर डंका पिट्दा हुन् दलहरु । भाषण ठोक्दा हुन् । त्यस्तै वर्षमा एकदिन सहिद परिवारहरुलाई दोसल्ला ओडाउन तानातान गरिदो होला । यसरी खिचातानीमा बाँचेको सहिद र हानथापमा बाच्न विवश भएका सहिद परिवारहरुले यतिबेला के पाए त ? देश र जनताको लागि प्राण आहुती गर्ने ती सहिद र उनका परिवारले के पाए त ? आजको ज्वलन्त प्रश्न यो हो छिन्ताङबासीको । यसको उत्तर छिन्ताङ हत्याकाण्डलाई भजाएर भोट मागेर चुनाव जित्नेहरुले दिनसक्छ ? यतिबेला छिन्ताङको सवाल भनेको यो हो । आज छिन्ताङको नाम बेचेर धेरै मान्छेहरु माथिल्ला ओहदामा पुगे, सांसद भए, मन्त्री भए र अझै खादैछन् पनि । छिन्ताङका सहिदहरुको घोडा चढेर धेरै मान्छेहरुले आफ्नो राजनीतिक दुनो पनि सोझाए । ती जालीहरु अझै कतै कुनै न कुनै दलको झण्डाको आडमा छिन्ताङ र छिन्ताङका सहिदहरुलाई अझै खरिद बिक्री गर्दैछन् । अब खबरदारी गर्नुपर्छ ।

सहिदहरु कसैको भागबण्डा र खरिद बिक्रिको माध्यम होइनन् र हुनुहुँदैन । अब सचेत छिन्ताङेहरुले त्यसो गर्न दिन पनि हुँदैन । आधारभूत रुपमा छिन्ताङ हिजो जस्तो थियो आज पनि त्यस्तै छ । छिन्ताङमा हिजो जस्तो अभाव थियो आज पनि त्यस्तै अभाव छ । अभाव र शोषणका विरुद्ध आफ्नो प्राण आहुति गर्ने ती महान क्रान्तिकारीहरु समयमै सहिद भए । उनीहरुले देखेको सपना पुरा भएको छैन छिन्ताङमा । उनीहरुलाई यतिबेला दलहरुले चुनावको बेला देखाउने बुख्याँचा बनाएको छ । राजनीतिक भाषामा हटकेक भएकाछन् सहिदहरु । त्यसैले लडाइँ अझै जारी छ सहिदहरुको सपना पुरा गर्न र गराउनको लागि । यो महान कार्य पुरा गर्न अब छिन्ताङका नयाँ पुस्ताको काँधमा युगले सुम्पिदिएको ठूलो दायित्व छ र उनीहरुले मात्र पुरा गर्न र गराउन सक्दछ । अबको छिन्ताङको भविष्य त्यहिँ मात्र छ किनभने अव केवल सहिद सम्झिने नाममा दलका नेताहरु छिन्ताङमा भेला भएर सहिद सप्ताह मनाउने औपचारिकता मात्रको कुनै गुन्जायस रहनेछैन । यो छिन्ताङका सहिदहरुलाई भजाउनेहरुलाई हेक्का हुनुपर्दछ । र, छिन्ताङका सहिदहरु वेवारिसे किमार्थ हुन दिनुहुदैन जुन आजसम्म भइरहेको छ ।

बेखबर जिउँदा सहिदहरु
जीवन उत्सर्ग गरेका सहिदहरुका हालत यस्तो छ भने सघर्षको वरिपरि जेलिएका कैयौं योद्धाहरु जसलाई हामी जिउँदा सहिद भन्छौ उहाँ र उहाँहरुका परिवारहरुका स्थिति कस्तो होला ? सम्बन्धित पक्षलाई उल्लेख गर्ने, सन्दर्भ केलाउने कसैलाई हेक्का होला र ? तर, उहाँहरु र उहाँहरुको परिवारलाई पनि संझिनु आवश्यक छ । जिउँदा सहिदरु पनि मुक्तिका निम्ति उत्सर्ग गर्न तम्सिएका र उत्सर्गको लाममा अग्रपंक्तिमा उभिएका तर संयोगले बाचेका, कतिपय बाँचे पनि अंगभंग भएकाहरुलाई पनि यतिबेला सम्झिनुपर्दछ । उनीहरुको महान बलिदानलाई पनि कम आक्न मिल्दैन किनभने उनीहरु पनि जीवनको उत्सर्गको लागि तयार भएर होमिएकै हुन् । ती जिउँदा सहिदहरु कति अंगभंग भए कतिपय गरिखाने जीवनलाई विखुजो वनाइदिए, कतिलाई मानसिक यातना दिए, कतिलाई हुलहुज्ज्त गरे, कतिलाई बलात्कार गरे । तिनीहरुलाई पनि त राज्यले सम्झिनु पर्ने दायित्व हो । उनीहरु पनि सहिदका एउटा अंश हुन् । यतिबेला हामीले सहिदहरु सँगै जिउँदा सहिदहरुलाई सम्झिनु आवश्यक छ । वास्तवमा जीवन उत्सर्ग गर्ने र उत्सर्गको लागि तयार हुनेहरुलाई संझिनु नै सहिदहरुलाई असलीरुपमा संझिनु हो । सहिदहरुलाई नाममा संझेर होइन । उनीहरुको फोटोमा एकथुँगा फूल अर्पण गरेर सहिदलाई संझिने परम्परा ढोँगी परम्परा सिवाय केही होइन । त्यस्तो परम्परालाई निरुत्साहित गर्नुपर्दछ । आजको असली परम्परा भनेको असल संस्कृतिको विजारोपण गर्ने परम्परा हुनुपर्दछ । हामीले हर हमेशा जस जसले यो माटोमा आफनो रगत सिंचित गरे, सिंचित गर्न तयार रहे उनीहरुको बाटोलाई, उनीहरुको महान भावना र विचारलाई आत्मसात गर्दा नै सहिदहरुको नाममा असली श्रद्धान्जली हुनसक्दछ । सन्दर्भको रुपमा आँखिसल्लाका पंचलाल राई जो एक दशक भन्दा बढि जेल बसे अनि ७० वर्षको उमेरमा एम्बुस थाप्न कस्सिए ।

क्रान्ति र परिवर्तनको निम्ति उनले आफनो जीवन उत्सर्गको निम्ति एक पटक होइन । पटक पटक तयार भए । उनी कुनै कागतालीले क्रान्तिमा होमिएनन । पटक पटक सुझबुझ गरेरै होमीए । उनको आँखाँमा क्रान्ति बाहेक अर्काे कुनै दृश्य नै थिएन । उनी जहिल्यै पनि मुक्त आकाशको खोजी गरिरहे । उनी जहिल्यै पनि परिवर्तन र मुक्तिका निम्ति राता कुरा मात्रै गरिरहे । हो वास्तवमा संयोगले बाचेका त्यस्ता जिउँदा सहिदहरु पनि यतिवेला संझिनुपर्दछ । हामी छिन्ताङका भक्त बोलना, गणेश नाइका, गडुलबहादुर राई, गंगाबहादुर राईलाई सम्झिन हिचकिचाउछौं । उनीहरु परिवर्तनका निम्ति एकपटक होइन पटक पटक यो वा त्यो कोणबाट क्रान्तिमा होमिएका छन् । सहिदहरुलाई सम्झिँदा उनीहरुको परिवर्तन प्रतिको लगाव र योगदानलाई पनि कदर गर्नेबेला हो । पर पर लुकेर बसेका, छापाले नभेटेका हजारौ पंचलाल राईहरुलाई, किताबप्रसाद राई, दुवाहाङ राई, रुद्र बहादुर एवाइ, सुभान सिंह राई आदि जस्ताहरुले गरेको योगदान खोजेर या सहि इतिहास उत्खनन् गरेर कदर गर्ने, सम्झना गर्नुपर्ने दिन पनि हो सहिद सप्ताह ।
(राई धनकुटा बहुमुखी क्याम्पसका उपप्राध्यापक हुनहुन्छ ।)