अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहरी खानपानसँगै गाउँ पस्यो मधुमेह

सहरी खानपानसँगै गाउँ पस्यो मधुमेह


जुम्ला – पछिल्लो समयमा जुम्लामा मधुमेहका बिरामी बढेका छन् । जनस्वाथ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले सहरिया खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेह फैलिएको बताउनुभयो । ‘मधुमेह अहिले संसारभरि महामारीका रूपमा फैलिइरहेको छ। यसलाई नियन्त्रणमा नराखे दीर्घकालीन रूपमा गम्भीर जटिलता ल्याउन सक्छ,’ उहाँले भन्नुभयो ।

‘मधुमेहको हेरचाहमा सबैको पहुँच, अहिले नभए कहिले’ भन्ने मूलनाराका विश्व मधुमेह दिवसको अवसरमा आइतबार जनस्वास्थ्य सेवा कार्यालयले जुम्ला बजारमा १८८ जनाको मधुमेह परीक्षण गरेको थियो । जसमध्ये २६ जनामा मधुमेह भेटिएकोमा सातजनाले परीक्षण गरेर औषधि खाँदै गरेको र १९ जनाले कुनै थाहा नभएको जनाएका थिए ।

‘यो एकदिने तथ्यांकले जुम्लामा मधुमेहका रोगी बढ्दो क्रममा छन् भन्ने देखाउँछ । मधुमेह नियन्त्रण गर्न जरुरी छ,’ उहाँले थप्नुभयो, ‘समयमै परीक्षणको दायरामा नआएमा यसले जटिल अवस्था निम्त्याउन सक्छ ।’

ग्रामीण क्षेत्रका बासिन्दाको परिश्रम घटेको र खानपान सहरको जस्तै हुन थालेकाले मधुमेह देखिन थालेको चिकित्सकहरूको भनाइ छ । दैनिक खाजा र खानामा सहरिया चाउचाउ, बिस्कुट, पास्ता, तयारी पेय पदार्थको प्रयोग बढी हुने गरेको छ । यससँगै मासु र मदिराको प्रयोग पनि बढेको छ ।

ग्रामीण क्षेत्रमा सहरको रहनसहन भित्रिएसँगै मधुमेहको समस्या पनि बढ्न थालेको चिकित्सकहरू बताउँछन् । खानपानमा परिवर्तन, माछामासु, मदिराजस्ता वस्तुको उपभोग बढेकाले गाउँमा बस्नेहरूमा समस्या देखिएको सापकोटाले बताए । ‘गाउँमा पनि क्रयशक्ति बढ्यो, सहरको जस्तै खानपिन भयो, यसले समस्या बढाएको छ,’ उहाँले भन्नुभयो, ‘जो गाउँमा बस्नुहुन्छ, सबैले पनि खानपानमा ध्यान दिनुपर्‍यो, नियमित स्वास्थ्य परीक्षण गर्नुपर्‍यो ।’

जुम्लामा ४० वर्षदेखि माथि उमेर समूहमा बढी मधुमेहको समस्या देखिएको छ । घरमा कसैलाई मधुमेह भएमा २० वर्षको उमेरदेखि नै परीक्षण गरिरहनुपर्ने सापकोटाको सुझाव छ । मोटोपना, उच्च रक्तचाप र वंशाणुगत समस्या भएमा २० वर्षभन्दा कम उमेरकाले पनि परीक्षण गराइरहनुपर्ने उहाँले बताउनुभयो । ‘खाली पेटमा रगत परीक्षण गर्दा १२६ मिलीग्राम परडेसिलिटरभन्दा बढी र खाना खाएपछि २०० भन्दा बढी भएमा हामीले मधुमेह (डाइबिटिज) भन्दछौँ,’ सापकोटाले भन्नुभयो । मधुमेह भएपछि खानपान, व्यायाम र औषधिको सहायताले सुगर ९चिनी० लाई निश्चित विन्दुमा नियन्त्रणमा राख्न आवश्यक रहेको उहाँको भनाइ छ ।