अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एम्बुलेन्स किन्न प्रवासीले पठाएको २८ लाख फिर्ता

एम्बुलेन्स किन्न प्रवासीले पठाएको २८ लाख फिर्ता


बागलुङ – धौलागिरि अस्पताल बागलुङमा एम्बुलेन्स खरिदका लागि प्रवासमा रहेका नेपालीले गाँस काटेर पठाएको रकम फिर्ता भएको छ ।

एम्बुलेन्स खरिद गर्न अष्ट्रेलियामा रहेका बागलुङेहरूले धौलागिरि अस्पताल विकास समितिको नाममा  पठाएको २८ लाख दुई हजार रुपैयाँले सुविधा सम्पन्न एम्बुलेन्स खरिद गर्न नसकेपछि रकम फिर्ता भएको हो । उक्त रकमबाट दोस्रो श्रेणीको ट्रमा एम्बुलेन्स किन्ने योजना थियो । बागलुङ अष्ट्रेलियन कमिटी सिड्नीले रकम पठाएको थियो ।

एम्बुलेन्स खरिद गर्न बजेट नपुगेपछि बाध्य भएर पैसा फिर्ता गर्नुपरेको निवर्तमान अस्पताल विकास समितिका अध्यक्ष केवी राना मगरले बताउनुभयो । उहाँले बागलुङ अष्ट्रेलियन कमिटीका प्रतिनिधि तिलबहादुर विष्टलाई पठाए बराबरको रकम फिर्ता गरेका हुन् । फिर्ता भएको पैसा कमिटीको खातामा राख्ने विष्टले बताए । समितिको निर्णयअनुसार नै सो रकम खर्च हुनेछ ।

हाल अस्पताल विकास समिति पदाधिकारीविहीन छ । उक्त रकमले फोर ह्विल एम्बुलेन्स खरिद गर्न अपुग हुने र टु ह्विल एम्बुलेन्स खरिद गर्न नपाइने सरकारी नीतिका कारण समस्या भएको रानाले बताउनुभयो । एम्बुलेन्स खरिद गर्न सरकारलाई रकम थपका लागि धेरैपटक आग्रह गर्दा पनि निकास नदिएको रानाको गुनासो छ ।

भन्सार छुटसहित फोर ह्विल एम्बुलेन्स खरिद गर्न २७ लाख रुपैयाँ अपुग थियो । उक्त एम्बुलेन्सलाई ५५ लाख रुपैयाँ पर्ने रानाको भनाइ छ । अस्पताल विकास समितिले किन्ने तयारी गरेको एम्बुलेन्सको बजार मूल्य ८० लाख थियो । भन्सार छुट गर्दा प्रवासीले पठाएको रकमले पुग्ने थियो ।

स्वास्थ्य मन्त्रालयका पदाधिकारीले बागलुङको हकमा विशेष निर्णय गरेर टु ह्विल एम्बुलेन्स खरिद गर्न दिने आश्वासन दिए पनि कार्यान्वयन हुन नसक्दा रकम फिर्ता गर्नुपर्ने बाध्यता भएको रानाले बताए । समितिले गत वैशाखदेखि एम्बुलेन्स खरिदका लागि सहयोग जुटाएका थियो । अस्पतालमा अहिले जिप प्रकृतिको पुरानो एम्बुलेन्स छ ।