अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कपिलवस्तुका विद्यालयमै कोरोनाविरुद्धको खोप लगाउने तयारी

कपिलवस्तुका विद्यालयमै कोरोनाविरुद्धको खोप लगाउने तयारी


कपिलवस्तु – कोरोनाविरुद्धको मोर्डना खोपलाई विद्यालयमा पुगेर लगाउने तयारी भएको छ ।

लक्षित उमेर समूहका बालबालिका विद्यालयमा अध्ययन गर्ने भएकोले विद्यालयमै पुगेर खोप लगाउने अन्तिम तयारी भएको छ । जिल्लाभरिका १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने छ। कार्यालयले सबै बालबालिकालाई खोप लगाउनको लागि पालिकाका शिक्षा र स्वास्थ्य शाखाका प्रमुखसँग सूक्ष्म योजना निर्माण भएको छ ।

पुस ४ गतेदेखि पहिलो चरण अन्तर्गत देशका ३७ जिल्लाका १७ लाख बालबालिकालाई मोर्डना खोप लगाउन सुरु हुने छ । सोही अभियानअन्तर्गत कपिलवस्तुमा पुस ५ गतेदेखि खोप लगाइने स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताउनुभयो । उहाँले २०६१ साल मङ्सिर देखि २०६६ साल मङ्सिर भित्र जन्मिएका बालबालिकाहरूलाई नजिकको विद्यालयमा गई खोप लगाउन अनुरोध गर्नुभयो ।

लक्षित समूहका सबैलाई खोप लगाउन कक्षा ६ देखि माथि सञ्चालन भएका सबै विद्यालयमा खोप केन्द्र सञ्चालन गरिने छ । विद्यालय पढ्दै गरेका र विद्यालय छाडेका सबैलाई खोपको दायरामा ल्याउन शिक्षक तथा स्वास्थ्यकर्मी परिचालन गरिने बुद्ध भूमि नगरपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद भट्टराईले बताउनुभयो ।

मोर्डना खोप २८ दिनको फरकमा २ पटक लगाइने विश्व स्वास्थ्य सङ्गठनका कन्सलट्यान्ट मुकुन्द रेग्मीले बताउनुभयो । रेग्मीले खोपको विषयमा सरोकारवालालाई सहजीकरण समेत गरेका थिए । पहिलो मात्राको लागि ८० हजार डोज खोप स्वास्थ्य कार्यालयलाई प्राप्त हुने स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश चन्द्र घिमिरेले बताउनुभयो । हरेक पालिकामा १० दिनसम्म खोप अभियान चल्ने बताइएको छ ।