अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तिनजुरेको गुराँस र ढुंगाको बगैँचाले पर्यटक तान्दै

तिनजुरेको गुराँस र ढुंगाको बगैँचाले पर्यटक तान्दै


तेह्रथुम – गुराँसे वनको काख, चारैतिर पहाडले घेरिएको सुन्दर मैदान । विभिन्न आकृति कुँदिएका ढुंगाहरू । चिरविर चरीको अवाजसँगै मोहित हुन्छन् पर्यटकहरू । तराई विभिन्न गाउँ तथा सहरबाट रमाउन पुग्छन् पर्यटक । पूर्वी नेपालमा एक परिचित पर्यटकीय स्थल हो, तिनजुरे । यही तिनजुरेको फेदीमा रहेको आरआर गार्डेन (गुराँस र ढुंगाको बगैचा) यतिबेला वनभोजको लागि पर्यटकहरूको गन्तव्य स्थल बनेको छ ।

तेह्रथुमको लालिगुराँस नगरपालिकाको बसन्तपुर बजार नजिकै रहेको यो गार्डेनमा पछिल्लो समय वनभोजकै लागि आउने पर्यटकहरूको संख्या बढ्दो छ । सिरसिर बताससँगै शान्त सुन्दर वातावरणमा रहेको छ यो स्थान । विशेष गरी शनिबार तथा सार्वजनिक बिदाको दिन पर्यटकहरूको चाप निकै बढी हुने गरेको छ ।

भौगोलिक वातारण तथा प्रकृतिको सुन्दरता बोकेको गुराँसे वनको काखमा वनभोजमा रमाउनुको मजै नै बेग्लै भएको मोरङबाट वनभोजका लागि आएका समीर सावादेनले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘तराईको कृतिम पार्कहरू भन्दा प्राकृतिक सौदर्यतामा रमाउनुको आनन्द छुट्टै हुन्छ । त्यसैले आएका हौँ ।’ चारैतिर घेराबारासँगै गार्डेनको बीचमा पोखरी निमार्ण गरिएको छ ।

यहाँ आउने पर्यटकहरूलाई वनभोजका लागि सहज बनाउने खानेपानीको व्यवस्थासमेत गरिएको छ । बगैँचाको बीच बीचमा विश्रामस्थल बनाइएको छ ।

गार्डेनमा पुगेपछि मोहित बनेको पर्यटक साइन राईले बताउनुभयो । साना तथा ठूला सवारीसाधानबाट सहजै रुपमा पुग्न सकिने यो गार्डेन गुराँस र ढुंगाको बगैँचाको रूपमा चिनिएको छ ।

पारिवारिक तथा सामूहिक भोज गर्नका लागि पर्यटकहरू यहाँ आउने गरेका छन् । हिउँदयाममा यहाँ दैनिक रूपमा पर्यटकहरू सयौंको संख्यामा आउने गरेको होटल व्यवसायी श्री कार्कीले बताउनुभयो ।