अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोटेकोशी विपद्माथि एमाले संसदीय दलको बैठक जारी

भोटेकोशी विपद्माथि एमाले संसदीय दलको बैठक जारी


काठमाडौं-नेकपा (एमाले) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा जारी रहेको छ। भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्ले देशभर पुर्‍याएको क्षति र त्यसपछिको अवस्थाबारे प्रतिनिधि सभामा पार्टीका तर्फबाट प्रस्तुत गरिने धारणा तथा एजेण्डा तय गर्न बैठक बसिरहेको हो।

एमालेका प्रमुख सचेतक ऐनबहादुर महरका अनुसार बैठकमा विशेष गरी रसुवाको भोटेकोशी बाढीसहित देशका विभिन्न भागमा भएका विपद्का घटनाबाट उत्पन्न मानवीय तथा भौतिक क्षति, राहत तथा उद्धार कार्यको अवस्था र पुनर्निर्माणका योजनाबारे सघन छलफल भइरहेको छ।

उनका अनुसार प्रतिनिधि सभाको आगामी बैठकमा विपद् न्यूनीकरण, प्रभावित नागरिकलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने विषयमा सरकारलाई प्रभावकारी र ठोस कार्ययोजना बनाउन सुझाव दिने गरी पार्टीको धारणा तयार पारिनेछ।

बैठकमा एमाले सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा विपद्ले पुर्‍याएको क्षतिको विवरण प्रस्तुत गरिरहेका छन्। साथै प्रभावित क्षेत्रका समस्या, राहत वितरणको अवस्था, पुनर्स्थापनाका चुनौती तथा सरकारको ध्यानाकर्षण गराउनुपर्ने विषयमा सांसदहरूले धारणा राखिरहेको प्रमुख सचेतक महरले जानकारी दिए।

एमालेले विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणलाई राष्ट्रिय प्राथमिकताको विषयका रूपमा उठाउँदै संसद्मार्फत सरकारलाई प्रभावकारी कदम चाल्न दबाब दिने तयारी गरेको जनाएको छ।