अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

श्रीमतीको हत्यापछि आगो लगाएर भागेका युवक ७ वर्षपछि पक्राउ

श्रीमतीको हत्यापछि आगो लगाएर भागेका युवक ७ वर्षपछि पक्राउ


काठमाडौं – कपिलवस्तुको कृष्णनगर नगरपालिका–६ स्थित श्रीनगरमा पत्नीलाई हत्या गरेर आगो लगाएर भागेका युवकलाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारत सिद्धार्थनगर तहसिल नौगढ ग्राम धन्सा बस्ने ३० वर्षीय मुलायम भन्ने सिकन्दर चमारलाई मंगलबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

सिकन्दरलाई पुस २७ मा कपिलवस्तुको यशोधरा गाउँपालिका–६ स्थित नेपाल भारत सिमानाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता (डिएसपी) धर्मराज भण्डारीले बताउनुभयो ।  

कृष्णनगर नगरपालिका–६ स्थित श्रीनगर गाउँमा ससुराली आएका सिकन्दर चमारले २०७१ चैत १ मा पत्नी किस्लावती चमारलाई हत्या गरेर जलाएका थिए । फागुन ३० मा राति उनी पत्नीलाई साथमा लिएर ससुराली आएका थिए । सो रात खाना खाएर ससुरा सुखराम चमार गोठमा सुत्न गए । त्यसपछि पत्निलाई गाउँको दक्षिण पश्चिमस्थित भिन्कन आरखको रहरको खेतमा लगेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यापछि आगो लगाएर उनी फरार भएका थिए।

बुवा सुखरामले आफ्नी छोरीको शव घटना भएको भोलिपल्ट फेला पारेका थिए। प्रहरीका अनुसार शव घरबाट अन्दाजी तीन सय मिटर टाढा रहेको खेतमा काटिएको र जलाइएको अवस्थामा फेला परेको थियो।

मुलायमको परस्त्रीसँग सम्बन्ध भएको र दुई वर्षकी छोरी समेत भइसकेको बुवा सुखरामले प्रहरीलाई बताएका छन्। त्यही कारणले आफ्नी छोरीको हत्या गरेको सुखराम बताउँछन्।

प्रहरीले गोप्य सूचनाको आधारमा खोज्दा मुलायमलाई मंगलबार राति साढे १० बजे यशोधरा गाउँपालिका-६ रंगपुरस्थित नेपाल भारत दशगजा सिमानामा पक्राउ गरेको हो।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको बताएको छ।