अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लागुऔषध तथा हातहतियार मुद्दाका फरार प्रतिवादी पक्राउ

लागुऔषध तथा हातहतियार मुद्दाका फरार प्रतिवादी पक्राउ


तनहुँ – जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध तथा हातहतियार मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा निवासी २५ वर्षीय निनो श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठले  आफू बस्ने कोठामा लागु औषध लुकाइराखेको भन्ने गोप्य सूचनाका आधारमा निजको कोठामा गई खानतलासी लिँदा विभिन्न किसिमका लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । कोठाको दराज भित्र लुकाइराखेको अवस्थामा दुई लिटरको लेखिएको नुफिन १३४ एम्पुल, फेनेरागन लेखिएको दुई लिटरको १३६ एम्पुल, डाइजेपाम लेखेको दुई लिटरको १३३ एम्पुल गरी कूल ४०३ एम्पुल बरामद गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार नाइट्राभेट–१०, १९२ चक्की, स्पास्मो प्रोजाइभोन प्लस लेखेको ५४ चक्की, कोडिन फासफाँटे र क्लोरफेननिरामिन मलेट लेखेको लागु औषध एक बोत्तल तरल पदार्थ र सोही दराजमा लुकाइराखेको अटो पेस्तोल ७.०५ एमएम ७ राउण्ड लेखेको म्याग्जिनसहितको पेस्तोल एक थानसमेत प्रहरीले बरामद गरेको हो ।

घटनापश्चात श्रेष्ठ तत्काल फेला नपरी गत पुस १५ गतेदेखि फरार रहेकामा निज श्रेष्ठको खोजतलास गर्ने क्रममा कास्की पोखरा महानगरपालिका–६ हल्लनचोकबाट पक्राउ गरिएको हो । निजउपर तनहुँ जिल्ला अदालतबाट लागु औषध तथा हातहतियार खरखजना मुद्दामा १० दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो