अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘मार्ने धम्की’ आएको भन्दै आदिवासी जनजाति संघका सभापति गुरुङद्वारा कांग्रेसबाट राजीनामा

‘मार्ने धम्की’ आएको भन्दै आदिवासी जनजाति संघका सभापति गुरुङद्वारा कांग्रेसबाट राजीनामा


काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल आदिवासी जनजाति संघका सभापति इन्द्रबहादुर गुरुङले पार्टीको क्रियाशील सदस्यसमेत नरहने गरी सबै पदबाट राजीनामा दिनुभएको छ ।

सभापति गुरुङले आदिवासी जनजातिलाई पार्टीले बेवास्ता गरेको गुनासोसहित उक्त पदसहित क्रियाशील सदस्यता पनि त्यागेका हुन्।

सभापति शेरवहादुर देउवालाई सम्बोधन गरेर दिएको राजीनामा पत्रमा उहाँले कांग्रेसभित्र आदिवासी जनजातिका मुद्दा उठाउँदा ज्यानको समेत जोखिम भएको र परिवार तथा धनको चिन्ता गर्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभएको छ ।

‘कांग्रेसको मूल्य, मान्यता र आदर्शलाई आत्मसात गर्दै २०१७ सालदेखि पार्टीमा निरन्तर क्रियाशील थिएँ,’ उहाँले भन्नुभएको छ, ‘पार्टीले आदिवासी जनजातिलाई दृष्टिकोण संकिर्ण बन्दै गएको छ । यसमा मेरो आपत्ति छ।’

सभापति गुरुङले कांग्रेसले रुखमा भोट माग्नुपर्ने ठाउँमा कहिले हसिया हथौडा, कहिले गाई, कहिले हलो र कहिले छाता चिन्हमा भोट हाल्नु परेकोमा समेत असन्तुष्टि जनाउनुभएइको छ ।

गुरुङ भन्नुहुन्छ- ‘कुनै जातिलाई भातृ संगठन कुनै जातिलाई शुभेच्छुक संगठन कुनै जातिलाई वास्तै नगर्नु साथै जातीय जनसंख्याको आधारमा भातृ संस्थाहरुले पाउने महाधिवेशन प्रतिनिधि नेपाल आदिवासी जनजाति संघले नपाउँदा हामीले सबै जात-जातिहरूलाई समेट्न सकेको अवस्था छैन । जसले गर्दा विभिन्न किसिमका समस्याहरु व्यहोर्नु परेको छ । कतिपय आदिवासी जनजातिबाट ज्यान लिनसक्ने धम्की समेत मैले सहनुपर्ने अवस्था भएको छ । आदिवासी जनजातिलाई हेर्ने दृष्टि नियाल्दा नेतृत्वमा भएकाहरुले पार्टीको चिन्ता लिनुको सट्टा, आदिवासी जनजातिको मुद्दा बोक्नेलाई कसरी सिध्याउने भन्ने चिन्ता गरेको पाएँ । परिवारको चिन्ता, धनको चिन्ता, हिन्दु राष्ट्र घोषणाको धर्म निरपेक्षको खारेजको चिन्ता लिनु कांग्रेसले रुखमा भोट माग्नु पर्ने ठाँउमा कहिले हँसिया हथौडा, कहिले गाई, कहिले हलो, कहिले छातामा मतदान गर्न पठाउने साथै संगठनमा भन्दा गुट-उपगुट समूहमा ध्यान दिने आदि कारणले म आजको मितिदेखि नेपाल आदिवासी जनजाति संघको सभापति र पार्टीको क्रियाशील सदस्यताबाट समेत राजीनामा गर्दछु ।’

राजीनामा पत्र

श्रीमान् सभापतिज्यू,
नेपाली काँग्रेस, केन्द्रीय कार्यालय
वी.पी. नगर सानेपा, ललितपुर ।

विषय : राजीनामा सम्बन्धमा ।

नेपाली काँग्रेसको मूल्य, मान्यता र आदर्शहरूलाई आत्मासात गर्दै मैले वि.स. २०१७ सालदेखि पार्टीमा निरन्तर क्रियाशिल रहदै आएको जेलनेल जिवन बिताएको स्मरण गराउन चाहन्छु । विगत लामो समयदेखि पार्टीको भातृ संस्था नेपाल आदिवासी जनजाति संघको केन्द्रीय सभापतिको पदमा रही आदिवासी जनजाति समुदायभित्र आफ्नो विवेक र ल्याकतले भ्याए सम्म सक्रिय रहदै आएको सन्दर्भमा पार्टीबाट आदिवासी जनजाति समुदायको पक्षमा खासै चासो र सहयोग प्राप्त हुन सकेको अवस्था छैन् । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै नेपाल आदिवासी जनजाति संघको पुरानो विधान संशोधन गरी संघीय संरचना अनुसार संस्थालाई परिवर्तन गर्नको लागि मिति २०७४ फाल्गुण २७ गते संशोधित विधान चार बर्ष पुग्न लाग्दा पनि आजसम्म पनि पार्टीको केन्द्रीय कार्यसमितिबाट स्वीकृत नभएको कारणले गर्दा हामीले नेपाल आदिवासी जनजाति संघको महाधिवेशन गर्न पाइरहेका छैनौं ।

त्यस्तै गरी मिति २०७५ बैशाख २० गते आदिवासी जनजातिहरूको साँस्कृतिक चाड पर्वहरूको सार्वजनिक विदा केपी ओलीको सरकारले खारेज गरेकोमा ती चाडपर्वमा दिएको विदाहरुलाई यथावत राख्न काँग्रेसले संसदमा बोली दिनु पर्यो भनि पाँच बुँदे ज्ञापन–पत्र सभापतिज्यूलाई बुझाउँदा समेत एक शब्द आजको दिनसम्म नबोल्दा मौन समर्थन गरेको बुझिन्छ साथै वर्तमानमा सभापतिज्यूकै नेतृत्वमा सरकार हुँदा समेत नेपालका आदिवासी जनजाति समुदायहरुले विगतमा निरन्तरता पाउँदै आएको सार्वजनिक विदाहरु पुनस्र्थापित नहुदा मैले नैतिक रुपमा नेपाल आदिवासी जनजाति संघको सभापति पदमा रही रहनु उचित ठानेको छैन् । कुनै जातिहरूलाई भातृ संगठन कुनै जातिलाई शुभेच्छुक संगठन कुनै जातिलाई वास्तै नगर्नु साथै जातिय जनसंख्याको आधारमा भातृ संस्थाहरुले पाउने महाधिवेशन प्रतिनिधि नेपाल आदिवासी जनजाति संघले नपाउँदा हामीले सबै जात–जातिहरुलाई समेट्न सकेको अवस्था छैन् जसले गर्दा विभिन्न किसिमको समस्याहरु हामीले व्यहोर्नु परेको अवस्था छ । कतिपय आदिवासी जनजातिले ज्यान लिन सक्ने धम्कि समेत मैले सहनुपर्ने अवस्था भएको हुदा र पार्टीले आदिवासी जनजातिलाई हेर्ने दृष्टि नियाल्दा पार्टीको नेतृत्वमा भएकाहरुले पार्टीको चिन्ता लिनुको सट्टा, आदिवासी जनजातिको मुद्धा उछाल्नेलाई कसरी सिध्याउने चिन्ता, परिवारको चिन्ता, धनको चिन्ता, हिन्दु राष्ट्र घोषणाको धर्म निरपेक्षको खारेजको चिन्ता लिनु नेपाली काँग्रेसले रुखमा भोट माग्नु पर्ने ठाँउमा कहिले हँसिया हथौडा, कहिले गाई, कहिले हलो, कहिले छाता आदिमा मतदान गर्न पठाउने साथै संगठनमा भन्दा गुट उपगुट समुहमा ध्यान दिने आदि कारणले म आजको मिति देखी नेपाल आदिवासी जनजाति संघको सभापति र पार्टीको क्रियाशिल सदस्यताबाट समेत राजीनामा गर्दछु ।

जय नेपाल

श्री इन्द्रबहादुर गुरुङ
सभापति, नेपाल आदिवासी जनजाति संघ
केन्द्रीय कार्यसमिति, काठमाण्डौं