अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखको विकल्प खोज्दै प्रधानमन्त्री

सभामुखको विकल्प खोज्दै प्रधानमन्त्री


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्नीप्रसाद सापकोटाको विकल्प खोजेर भएपनि संसद्मा एमसीसी टेबल गर्ने तयारी गर्नुभएको छ ।  

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल एमसीसीमा तगारो बनेपछि देउवाले विकल्प खोजेर संसदबाट एमसीसी पारित गर्ने तयारी गर्न लागनुभएको बालुवाटार निकट स्रोतको दाबी छ । 

आज (बुधबार)का लागि तय भएको प्रतिनिधि सभाको बैठक सभामुख सापकोटाले मंगलबार अबेर सूचना निकालेर फागुन २ गतेसम्मका लागि स्थगित गरेसँगै प्रधानमन्त्री देउवा सभामुख सापकोटाको विकल्प खोज्न परेपनि तयार देखिएका हुन् ।

आज बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी टेबल गर्न छलफल गर्ने तयारी थियो। संसद स्थगित भएपछि फेरि एक पटक प्रधानमन्त्रीले गठबन्धनको बैठकमा एमसीसीबारे निर्णायक छलफल गर्ने तयारी गर्नुभएको छ ।

 फागुन २ भित्र एमसीसीबारे गठबन्धन दलहरुबीच सहमति कायम भए सहजै एमसीसी टेबल हुनेछ।  काग्रेस नेताहरुका अनुसार फागुन दुईभित्र सहमति कायम नभए प्रधानमन्त्री देउवाले अर्को विकल्पका रुपमा सभामुख हटाउने प्रक्रिया सुरु गर्नुहुनेछ ।

सभामुखको विकल्प खोज्न एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समेत साथ दिने प्रतिबद्धता प्रधानमन्त्री देउवालाई दिइसकेका छन् ।

संसदको ठूलो दल एमालेले आफूले कारबाही गरेको १४ सांसद पदमुक्त भएको सूचना समामुखले टाँस नगरेको जनाउँदै संसद् बैठक अवरुद्धदेखि सर्वदलीय बैठक बहिस्कार गर्दै आइरहेको  छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख सापकोटालाई हटाउनु पर्ने र आफ्ना पार्टी छाडेर एकीकृत समावादी पार्टीमा गएका सांसदहरुलाई तत्काल हटाउनु पर्ने माग पटक–पटक राख्दै आइरहनुभएको छ ।

नागरिक समाजका अगुवाहरुले समेत मंगलबार विज्ञप्ति निकालेर सभामुख सापकोटाले निष्पक्ष काम नगरेको भन्दै उहाँलाई हटाउन राजनीतिक दलहरुलाई आग्रह गरेका थिए । विज्ञप्तिमा सापकोटा हत्यामा किटानी जाहेरी गरिएका आरोपित भएको र उनीविरुद्ध काभ्रे जिल्ला प्रहरीदेखि सर्वोच्च अदालतको संवैधानिक इजलास र नियमित इजलासमासमेत हत्या आरोप तथा अनैतिक आचरणसम्बन्धी गम्भीर उजुरी र मुद्दाहरू विचाराधीन रहेको स्मरण गराउँदै पदको दुरुपयोगबाट न्यायमा अवरोध गरेकाले पदबाट हट्नुपर्ने माग गरिएको छ ।