अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कास्कीका शैक्षिक संस्था फागुन १ देखि सञ्चालनमा

कास्कीका शैक्षिक संस्था फागुन १ देखि सञ्चालनमा


कास्की – कोरोना सङ्क्रमण जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञाका कारण बन्द कास्कीका शैक्षिक संस्थामा आगामी फागुन १ गतेदेखि सञ्चालनमा आउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गरी निषेधाज्ञाको आदेशलाई खुकुलो बनाउँदै स्वास्थ्य मापदण्डको पालना गर्ने गरी भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन गर्न अनुमति दिएको हो । गत पुस अन्तिम सातादेखी कोरोना जोखिम बढेपछि बन्द विद्यालय, विश्वविद्यालय, कलेज र ट्युसन सेन्टरमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न अनुमति दिएको हो । निषेधाज्ञा आदेशपछि  विद्यालयले अहिले अनलाइन माध्यमबाट कक्षा सञ्चालन गरिरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी जयनारायणका आचार्यका अनुसार मास्कको उचित प्रयोग, हात धुने व्यवस्था, सेनिटाइजरको प्रयोग र विद्यार्थीका बीचमा भौतिक दूरी पालना गराउने गरी शैक्षिक संस्था सञ्चालनको अनुमित दिइएको हो । यसैगरी विद्यार्थी ओसारपसार गर्दा माथिल्लो र तल्लो कक्षाका विद्यार्थीलाई भीडभाड नहुने गरी फरक-फरक समयमा आवागमनको व्यवस्था मिलाउन, अतिरिक्त कक्षा सञ्चालन नगर्न र कक्षाकोठा, शौचालयलगायत भौतिक संरचनाको सरसफाइ गर्न प्रशासनले आग्रह गरेको छ ।

यसैगरी होटल तथा रेष्टुरेण्टमा कूल क्षमताको आधाभन्दा बढी नहुने गरी भौतिक दूरी कायम गर्नुपर्ने, मठमन्दिर तथा धार्मिकस्थलमा स्वास्थ्य मापदण्डको पालना गर्ने गरी नित्य पूजा, ध्यान र प्रार्थन गर्न सकिने जारी सूचनामा उल्लेख छ । जिल्लामा सिनेमा हल, डान्सबार, दोहोरी, नाच घर, क्लब, हेल्थ क्लब, जिम खाना, स्वीमिङ पुल, फुटसल, पटके हाटबजार, स्पा सेन्टर, ब्यूटीपार्लरलगायत भीडभाड हुने अन्य प्रकारका कार्यक्रममाथि भने अझै पनि रोक लगाइएको छ ।

प्रशासनले आमसभा, जुलुससभा वा धेरै मानिस भेला हुने क्रियाकलाप पनि गर्न नपाइने गरी आदेश जारी गरेको हो ।