काठमाडौं-त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक गुणस्तर सुधारका लागि सबै शैक्षिक कार्यक्रममा सेमेस्टर प्रणाली लागू गर्ने तयारी गरेको छ। उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, परीक्षा प्रणालीलाई व्यवस्थित तथा पठनपाठनलाई प्रभावकारी बनाउने उद्देश्यले सेमेस्टर प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढाउन लागिएको हो।
शुक्रबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा मन्त्रालयका पदाधिकारी र त्रिवि नेतृत्वबीच भएको छलफलमा विश्वविद्यालयका सबै शैक्षिक कार्यक्रममा सेमेस्टर प्रणाली लागू गर्ने विषयमा छलफल भएको हो।
छलफलमा त्रिविका उपकुलपति प्राडा भोला थापा, शिक्षाध्यक्ष प्राडा अञ्जना सिंह, रजिस्ट्रार सहप्राडा रविन्द्र शिवाकोटी, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा, मन्त्रालयका सहसचिवद्वय जयराम अधिकारी र श्रीप्रसाद भट्टराई तथा विश्वविद्यालयका विभिन्न संकायका डीनहरूको सहभागिता थियो।
बैठकमा त्रिविको संस्थागत पहिचान र शैक्षिक ब्रान्ड स्थापित गर्ने, अनुसन्धानमूलक गतिविधिलाई प्रोत्साहन गर्ने, पठनपाठन प्रभावकारी बनाउने तथा विद्यार्थीको शैक्षिक क्षमताका आधारमा कोटा निर्धारण गर्ने विषयमा छलफल भएको थियो।

त्यस्तै, नयाँ शैक्षिक कार्यक्रम सञ्चालन तथा सम्बन्धन वितरणलाई निश्चित मापदण्डमा आधारित बनाउने, उच्च शिक्षामा लगानी बढाउने र विश्वविद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको थियो।
शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले शैक्षिक गुणस्तर सुधारका लागि विद्युतीय हाजिरी (ई–एटेन्डेन्स) प्रणाली प्रभावकारी हुने बताए। उनले सम्बन्धन वितरणमा संख्यात्मक विस्तारभन्दा शैक्षिक गुणस्तरलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
त्रिविबाट सम्बन्धन प्राप्त सबै क्याम्पसमा आवश्यक शैक्षिक पूर्वाधार, पुस्तकालय र प्रयोगशालाको व्यवस्था अनिवार्य हुनुपर्ने उल्लेख गर्दै झाले क्याम्पसहरूको दीगोपन र गुणस्तर कायम राख्नुपर्ने बताए।
उनले विश्वविद्यालयको पठनपाठनलाई सेमेस्टर प्रणालीमा लैजानुपर्ने, कलेजहरूलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्नुपर्ने र शैक्षिक सत्रलाई व्यवस्थित बनाउनुपर्ने धारणा राखे। साथै, त्रिविको जग्गा फिर्ता ल्याउने विषयलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने उनको भनाइ थियो।
छलफलमा सेमेस्टर प्रणाली कार्यान्वयनका लागि पाठ्यक्रम निर्माण भइरहेको तथा नीतिगत सुधारसँगै पाठ्यक्रम परिमार्जनको काम पनि अघि बढाइएको जानकारी गराइएको थियो।
त्रिविका उपकुलपति प्राडा भोला थापाले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै त्रिविलाई उत्कृष्टताको केन्द्र (सेन्टर फर एक्सिलेन्स) का रूपमा विकास गर्न विश्वविद्यालय प्रतिबद्ध रहेको बताए।
उनले नेपालको उच्च शिक्षा सुधारका लागि मन्त्रालयसँग समन्वय गरी विस्तृत कार्ययोजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
यसैगरी, मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले त्रिविको जग्गासम्बन्धी विषयमा थप खोजबिन गरी त्यसको समग्र लगत तयार गर्नुपर्ने बताए। यसका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने उनको भनाइ थियो।



प्रतिक्रिया