अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवा, दाहाल र नेपालको बैठक निष्कर्षविहीन

देउवा, दाहाल र नेपालको बैठक निष्कर्षविहीन


काठमाडौं – सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा जारी बैठक बिना कुनै निष्कर्ष सकिएको छ ।  

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच एमसीसीका विषयमा लामो छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको आगामी बैठकमा एमसीसी टेबल गर्नुपर्ने धारणा राख्न भएको थियो । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘अब ढिला नगरी एमसीसीलाई संसद्मा टेबल गरौँ । त्यहीँ आ–आफ्नो धारणा राखौँ । त्यहीँबाट यसको छिनोफानो गरौँ ।’

तर, नेताद्वय प्रचण्ड र नेपालले प्रधानमन्त्रीको सो प्रस्तावलाई अस्वीकार गरेका थिए । एमसीसी संसद्मा टेबल गर्न अघि दलहरुबीच साझा धारणा बनाउनुपर्ने र यसका लागि प्रतिपक्षी दलसँग पनि छलफल र संवाद गर्नुपर्ने उनीहरुले कुरा राखेका थिए । स्थानीय तहको चुनावअघि एमसीसी टेबल गर्न नहुने उनीहरुको धारणा रहेको थियो ।

आजको बैठकमाप्रधानमन्त्री देउवाले प्रचण्ड र माधवलाई एमसिसी फागुन २ गते बस्ने बैठकमा पेश गर्ने प्रस्ताव गरेपनि दाहाल र नेपालले अहिले नै एमसीसी पेश गर्दा निर्वाचनमा असर पर्ने भन्दै एमसीसी तत्काल पेश गर्न नहुने  पक्षमा अडान लिएसँगै गठबन्धन फुटको दिशामा जान लागेको हो ।  

एमसिसीलाई लिएर सत्ता गठबन्धनमा चर्को मतभेद छ। अमेरिकाले फेब्रुअरी २८ अर्थात् फागुन १६ भित्र एमसिसी अनुमोदन गर्न अमेरिकाले चर्को दबाब दिइरहेको छ। 

बिहीबार मात्रै अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले तीन दलका तीन नेतालाई फोन गरेर सम्झौता अनुमोदन नगरे नीतिमा पुनर्विचार गर्ने चेतावनी दिएको थिए। 

त्यसलगत्तै माओवादी अध्यक्ष प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमसिसीबारे निर्णय गर्न आग्रह गर्दै फोन गरेका थिए। 

एमाले अध्यक्ष ओलीले गठबन्धनसँगै बहुमत भएकाले आफुहरुसँग कुनै छलफल आवश्यक नपर्ने र प्रचण्ड र देउवा आफैले अमेरिकालाई लिखत गरेको कागज बाहिर आइसकेको भन्दै आफूहरको धारणा अहिले आउन आवश्यक नपरेको जवाफ पर्काउनुभएको थियो ।