अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी घटकलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान

माओवादी घटकलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान


काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ ।

२७औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकताबद्ध हुन ती घटकलाई आह्वान गर्नुभएको हो ।

अध्यक्ष दाहालले परिवर्तनका लागि लडेका शक्तिहरू एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । सन्देशमा भनिएको छ ‘परिवर्नतकारी क्रान्तिकारी शक्तिबीचको एकता भएमात्रै जनयुद्ध दिवस मनाउनुको अर्थ, महत्व र औचित्य रहन्छ । नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्वको रहेको छ । नेपाली राजनीतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रूपमा स्थापित भइसकेको छ । जनयुद्धको जगमा सम्पन्न भएको २०६२/६३ को संयुक्त जनआन्दोलनपश्चात मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रूपमा संस्थागत भएको हो । संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई सङ्घीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पनि जनयुद्धकै योगदान थियो ।’

देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेको जनाउँदै सन्देशमा अध्यक्ष दाहालले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक–शुभचिन्तक आम जनसमुदायलाई एकताबद्ध भएर सबै खाले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न अपिल गर्नुभयो ।

दाहालले जनयुद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित माओवादी नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गर्दै आएका सम्पूर्ण शक्तिहरूमा जनयुद्धका उपलब्धि एवं सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताको मर्म र भावनाअनुसार अगाडि बढ्न सन्देशमा विशेष अनुरोध गर्नुभयो ।