अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकार पर्दा पछाडिबाट चुनाव नगर्ने षड्यन्त्रमा लागेको छ : विष्णु पौडेल

गठबन्धन सरकार पर्दा पछाडिबाट चुनाव नगर्ने षड्यन्त्रमा लागेको छ : विष्णु पौडेल


बुटवल – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पाँच दलीय सत्ता गठबन्धन सरकार पर्दा पछाडिबाट अझै स्थानीय तहको निर्वाचन रोक्ने षडयन्त्रमा लागेको आरोप लगाउनु भयो ।

एमाले र जनताको दबाब थेग्न नसकेर चुनावको मिति घोषणा गरे पनि सत्तारुढ गठबन्धनले निर्वाचन गर्न नचाहेको उपाध्यक्ष पौडेलले बताउनु भयो ।

नेकपा एमाले रुपन्देहीले आज रोहिणी गाउँपालिकाको धकधईमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले आगामी वैशाख ३० गते सरकारले घोषणा गरेको चुनाव रोक्ने बहाना एमालेले पूरा हुन नदिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘एमाले र जनताको चौतर्फी दबाबका कारण सत्तारुढ गठबन्धनले चुनाव घोषणा गरे पनि पराजित हुने डरले चुनाव हुन नदिने बहानामा लागेका छन्, त्यसलाई एमालेले सफल हुन दिँदैन ।’

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई अदालतको परमादेशबाट हटाएर गठबन्धन सरकार बनाइए पनि वर्तमान सरकार पूर्णरूपमा असफल भएको उहाँले दावी गर्नुभयो । वर्तमान सरकारले केही पनि गर्न नसक्ने पौडेलको भनाइ थियो ।

एमाले प्रवेश गर्ने गाउँपालिका अध्यक्ष उपाध्यक्ष, वडाध्यक्षसहित सबैलाई पौडेलले सही समयमा सही पार्टी रोजेको बताउनु भयो।

नेता पौडेलले अबको निर्वाचन एमालेले एक्लैले जित्ने बताउनु भयो । जतिसुकै राजनीतिक दल मिलेर आए पनि एमाले एक्लैले सबैलाई पराजित गर्ने दाबी गर्नुभयो ।

कार्यक्रममा एमाले सचिव छविलाल विश्वकर्माले देशभर एमालेप्रति जनलहर बढ्दै गएको बताउनु भयो ।